एजेन्सी- पाकिस्तानका पूर्व क्रिकेटर नासिर जमशेदलाई १७ महिनाकाे जेल सजाय भएकाे छ। म्याच फिक्सिंगकाे मुद्दामा उनलाई म्यानचेस्टरको क्राउन अदालतले १७ महिनाको जेल सजाय सुनाएको हाे।
३३ वर्षीय जमशेदलाई गत वर्ष डिसेम्बरमा अदालतले दोषी ठहराएको थियो। यसअघि ४ खेलाडी फिक्सिंगकाे मुद्दामा जेल गइसकेका छन्।
जसमा पाकिस्तानका मोहम्मद आमिर, मोहम्मद आसिफ, सलमान बट्ट छन्। यी बाहेक भारतीय खेलाडी एस श्रीशांत पनि फिक्सिंग काण्डमा २७ दिन (मे-जून २०१३) तिहाड जेलमा बिताइसकेका छन्।
क्राउन अदालतले जमशेदका सहयोगी युसुफ अन्वर र मोहम्मद एजाजलाई क्रमशः ४० र ३० महिनाको जेल सजाय सुनाएकाे छ। दुवैले पाकिस्तान सुपर लिगमा खराब प्रदर्शनका लागि खेलाडीहरूलाई पैसा दिने कबुल गरेका थिए।
दुवै बेलायती नागरिक हुन्। जमशेदलाई पाकिस्तान क्रिकेट बाेर्ड (पीसीबी)ले २०१८ मा १० बर्षको लागि प्रतिबन्धित लगाइसकेकाे छ।
बेलायतको राष्ट्रिय अपराध एजेन्सीले म्याच फिक्सिंगको छानबिनको क्रममा गत वर्ष जमशेद, युसुफ अन्वर र मोहम्मद इजाजलाई पक्राउ गरेको थियो। प्रारम्भमा तीनै जनाले पाकिस्तान सुपर लीगमा फिक्सिंगकाे आराेप अस्वीकार गरेका थिए। तर गत वर्ष डिसेम्बरमा सुनवाइको क्रममा उनीहरुले त्यसमा संलग्न भएको स्वीकारे।
जमशेदले दुबईमा सन् २०१८ मा भएकाे पाकिस्तान सुपर लीगमा पेशावर जाल्मी र इस्लामाबाद युनाइटेडबीचकाे खेलमा म्याच फिक्सिंग गरेका थिए। उनले पेशावर जाल्मीका खेलाडी शार्जिल खानलाई इस्लामाबाद टीमको दोस्रो ओभरमा दुई डट बल खेल्न मनाएका थिए। त्यसपछि पीसीबीले शार्जिल र खालिद लतीफलाई ५ बर्षका लागि प्रतिबन्ध लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।