काठमाडौं- नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीको युट्युब च्यानलमा अब छन्द कविता उपलब्ध हुने भएका छन्। साहित्यानुरागी भूषिता वशिष्ठद्वारा गतवर्ष अप्रिलमा प्रस्तुत छन्द गायनको अनुभव युट्युबमार्फत् सार्वजनिक गर्न लागिएको नेपालयले जानकारी दिएको छ।
किताबमा मात्र सिमित राखेर छन्दको सुन्दरता पर्गेल्न नसकिँने भन्दै भाका हालेर गाउँदै प्रसारित गर्ने परम्परा विकसित गर्ने उद्देश्यले युट्युबमा राख्न खोजिएको कुरा नेपालयले बताएको छ। यसरी आधुनिक प्रविधिमार्फत् छन्दप्रेमीहरू माझ कविता पुर्याउँदा यसको दायरा फराकिँदै जाने विश्वास नेपालयको छ।
भूषिताले वाचन गरेका कवितामा सोमनाथ सिग्ध्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे लगायतका सुप्रसिद्ध कविहरूका रचना समावेश छन्।
‘पलेँटीको सांगीतिक मञ्चमा भूषिताको छन्द वाचनले नौलो रौनक ल्याएको थियो। संगीत र साहित्य मिसिएको त्यस नयाँ प्रस्तुतिलाई धेरैले रुचाएका थिए। कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नपाएका साहित्य र संगीतका अनुरागी माझ छन्दलाई धारावाहिक रुपमा बाँड्न पाउँदा हामी हर्षित छौँ,’ पलेँटी संयोजक संगीतकार आभासले भने।
‘छन्द परम्परा हाम्रो साहित्यको मौलिक स्वाद बोकेको विधा हो। नेपाली छन्दलाई वाचन गरी अभिलेख गर्ने मेरो प्रयासलाई पलेंटी कार्यक्रमले थप उर्जा दिएको थियो । अब त्यही कार्यक्रमको अभिलेख पलेँटीको युट्युब च्यानलमार्फत सार्वजनिक हुन लागेको सुन्दा मलाई खुशी लागेको छ,’ भूषिताले भनिन्।

भूषितालाई बाल्यकालदेखि नै छन्दले मोहित पार्थ्यो। अँग्रेजी साहित्यकी जिज्ञासु विद्यार्थी भूषिता अहिले छन्द कविताका भाकाहरूबाट मात्र होइन यसभित्रको साहित्यिक र पूर्वीय दार्शनिक पक्षसँग पनि मोहित छिन्।
नेपाली छन्द कविताको परम्परामा सयौं प्रकारका मात्रा अथवा मिटर रहेका छन्, जसलाई भूषिताले कार्यक्रमका क्रममा प्रष्ट्याएकी थिइन्। युट्युबमार्फत् प्रसारण हुने कार्यक्रममा छन्द र नेपाली साहित्यमाथि भूषिताको व्याख्या पनि समेटिएको छ।
भूषिताद्वारा प्रस्तुत छन्द पलेँटीको युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।