काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा अमेरिकालाई नेपालले १९१ रनको चुनौती पेश गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्दै ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १९० रन बनाएपछि अमेरिकाले सामान्य लक्ष्य पाएको हो।
नेपालका लागि छैटौं नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्ल र सातौं नम्बरमा आएका विनोद भण्डारीले उकासे। कुशलले अर्धशतक बनाए। कुशल र विनोदले ८४ रनको साँझेदारी गर्दै नेपाललाई उकासेका थिए। कुशल छैटौं विकेटको रुपमा ५० रन बनाएर आउट हुँदा नेपालको स्कोर १३३ पुगेको थियो।
कुशलले अर्धशतक मात्रै बनाएनन् आफ्नो डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विश्व रेकर्ड पनि राखे। १५ वर्ष ३४० दिन पुगेका कुशलले सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व रेकर्ड राखेका हुन्। यसअघि यो रेकर्ड नेपालकै रोहितकुमार पौडेलका नाममा थियो। रोहितले १६ वर्ष १४६ दिनमा युएईविरुद्ध दोस्रो एकदिवसीय खेलमा अर्धशतक बनाउँदै विश्व रेकर्ड राखेका थिए।
खराब सुरुवात गरेको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो। ३.१ ओभरमा नेपालको ६ रन हुँदा सुवास खकुरेल व्यक्तिगत ३ रन बनाएर आउट भएका थिए। ४६ रन हुँदा दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएपछि नेपालको एकपछि अर्को विकेट पतन सुरु भएको थियो।
४७ रन हुँदा दीपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट हुँदा ४७ रन हुँदा नै पारस खड्का चौथो विकेटको रुपमा १९ रन बनाएर आउट भए। योसँगै नेपाल पूर्ण रुपमा दबाबमा आएको थियो। त्यस लगतै नेपालको ४९ रन हुँदा आरिफ शेख पनि २ रनमा आउट भएका थिए।
त्यसपछि आएका कुशल र विनोदले सम्हालिएर खेल्दै नेपालको पारी उकासे। विनोदले पनि अर्धशतक बनाए। उनले ७९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए।
बलिङतर्फ अमेरिकाका क्यामरन स्टेभनसनले ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।