काठमडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० गोलअन्तरले पराजित गरेको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले बिबिसीमाथि संघर्षपूर्ण जित हात पारेको हो। पुलिसको जितमा भरत शाहले गोल गरे।
निरकुमार राईको कर्नर प्रहारमा कप्तान भरत शाहले खेलको २९औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै पुलिसले बिबिसीमाथि जित हात पारेको हो।
जितपछि पुलिस लिगको पाँचौ स्थानमा उक्लिएको छ। पुलिसको ११ खेलबाट १७ अंक भएको छ। पराजित बिबिसी भने ११ खेलबाट ८ अंक जोड्दै लिगको ११औं स्थानमा छ।
लिगको शीर्ष स्थानमा भने विभागीय टिम त्रिभुवन आर्मी रहेको छ। आर्मीको ११ खेलबाट २६ अंक हुँदा दोस्रो स्थामा रहेको मछिन्द्र क्लबको २५ अंक छ। लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टार क्लबको ११ खेलबाट २० अंक छ। चौथो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको १० खेलबाट १९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।