काठमाडौं- मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटको उपाधिका लागि फाइनलमा सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गर्ने भएको छ।
अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा बिहीबार भएको च्यालेन्जर राउण्डमा सिड्नी थन्डरलाई २८ रनले पराजित गर्दै मेलबर्न फाइनल प्रवेश गरेको हो। १९५ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको सिड्नी थन्डरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६६ रन मात्रै बनाउन सक्यो।
सिड्नी थन्डरका लागि एलेक्स रोसले ५८ र अर्जुन नाइरले ३० रन बनाए। मेलबर्नका लागि बलिङतर्फ हरिस राउफले ३ विकेट लिदा एडम जाम्पा र नाथन काउल्टर नाइलले समान २–२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा मात्र २ विकेटको क्षतिमा १९४ रन बनाएको थियो। मेलबर्नका लागि ओपनर मार्कुस स्टोइनिसले ८३ रन बनाए। उनले ५४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, निक लर्किनले पनि अविजित ८३ रन बनाए। निकै आक्रमक देखिएका लर्किनले ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।
नेपालका सन्दीप लामिछाने आबद्ध मेलबर्न क्यालिफायर राउण्डमा सिड्नी सिक्सर्ससँगै पराजित हुँदै च्यालेन्जर राउण्डमा धकेलिएको थियो। सन्दीप भने बिग ब्यास छोडेर आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिदेशीय सिरिज खेल्न फर्किएका थिए।
अब मेलबर्नले उपाधिका लागि फाइनलमा शनिबार प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।