काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानले लगातार दोस्रो जित हात पारेको छ।
बिहीबार भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो। २१४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४९.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटायो।
ओमानका लागि अकिब लियासले उत्कृष्ट प्रदर्शन गर्दै ७२ रन बनाए। ११० बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, ओमानका लागि मोहम्मद नदिमले अविजित ५५ रन बनाउँदा सुरज कुमारले अविजित ३३ रन बनाए। खावर अलीले ३१ रनको योगदान दिए।
४ रन हुँदा पहिलो विकेटको रुपमा जतिन्दर सिंहलाई व्यक्तिगत ४ रनमा गुमाएको थियो। तर दोस्रो विकेटको लागि ओमानका अकिब र खावरले ६६ रनको साझेदारी गर्दै टिमलाई उकासे। १८.४ ओभरमा खावर आउट हुँदा ओमानको ७० रन थियो। अकिबले फेरि मोहम्मद नदिमसँग मिलेर चौथो विकेटका लागि १५१ रनसम्म पुर्याए।
नदिम र सुरज कुमारले ६३ रनको साँझेदारी गर्दै ओमानलाई ६ विकेटको जित दिलाएका हुन्।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २१३ रन बनाएपछि ओमानले २१४ रनको लक्ष्य पाएको थियो।
अमेरिकाका लागि इयान होल्यान्डले ६५ रन बनाउँदै अमेरिकाको पारी सम्हालेका थिए। त्यस्तै, अमेरिकाका लागि अक्षय होमराजले ४४, मोनांक पटेलले १९ र तमिल पटेलले १६ रनको योगदान दिए। बलिङतर्फ मोहम्मद नदिमले ३ विकेट लिदा बिलाल खान, जिसान मकसोद र अकिब लियासले समान २–२ विकेट लिए।
ओमानले बुधबार भएको पहिलो खेलमा नेपाललाई १८ रनले पराजित गरेको थियो।
सिरिजअन्तर्गत अब नेपालले शनिबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।