काठमाडौं-सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपिएफ क्लबलाई पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको छ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विभागीय टिम आर्मीले एपिएफलाई २–१ गोलअन्तरले पराजित गरेको हो। आर्मीको जितमा दुबै गोल सन्तोष तामाङले गरे। एपिएफका लागि आशिष लामाले गोल फर्काएका थिए।
खेलको १६औं मिनेटमा सन्तोषले गोल गरे। कप्तान भरत खवासलाई डिबक्सभित्र एपीएफका रमेश दंगालले फल गरेपछि आर्मीले पेनाल्टी पाएको थियो। आफूले प्रहार गरेको पेनाल्टी एपिएफका गोलरक्षक राजु योगीले रोकेर आएको बल प्रहार गर्दै सन्तोषले गोल गरे।
तर खेलको ३१औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई १–१ गोलको बराबरी दिलाए। तर खेलको ४१औं मिनेटमा पाएको फ्रिकिकबाट सन्तोषले सुन्दर गोल गरे।
योसँगै आर्मी पहिलो हाफसम्म २–१ गोलअन्तरले अघि रह्यो।
दोस्रो हाफमा आर्मीले रक्षात्मक खेल खेल्दै आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो। यो जितसँगै आर्मी पुनः शीर्ष स्थानमा उक्लिएको छ। उपाधि नजिक रहेको आर्मीको ११ खेलबाट ८ खेलमा जित, २ खेलमा बराबरी र एक खेलमा हारसहित २६ अंक छ। यता, दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको समान खेलबाट २५ अंक छ।
लिगको तेस्रो स्थानमा भने डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब रहेको छ। उसको १० खेलबाट १९ अंक छ। शीर्ष स्थानमा रहेको आर्मी भन्दा मनाङ ७ अंकले पछि छ। त्यसैले पनि मनाङको लिग जित्ने सम्भावना निकै कम छ।
पराजित एपिएफ क्लबलाई भने अब रेलिगेशनकै चिन्ता परेको छ। ११ खेल खेलेको एपिएफ लिगको १३औं स्थानमा छ। यहि स्थिति १३औं राउण्डसम्म चल्ने हो भने एपिएफ रेलिगेशन हुँदै बी डिभिजनमा घटुवा हुनेछ।
११ खेलमध्ये १ खेलमा मात्रै जित हात पारेको एपिएफले २ खेलमा बराबरी र ८ खेलमा हार ब्यहोर्दै ५ अंक मात्रै बनाएको छ। लिगको पुछारमा रहेको सरस्वती युथ क्लबको ४ अंक छ। रेलिगेशनबाट बच्नका लागि पनि एपिएफले लिगको १२औं स्थानमा रहेको हिमालयन शेर्पालाई अंक तालिकामा उछिन्नु पर्छ। हिमालयन शेर्पाको १० खेलबाट ७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।