काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय सिरिज बुधबारबाट सुरु हुँदैछ। त्रिवि क्रिकेट मैदानमा सुरु हुने सिरिजमा कप्तान ज्ञानेन्द्र मल्लले घरेलु मैदानको फाइदा उठाउँदै जित हात पार्ने बताएका छन्।
मंगलबार कप्तान ज्ञानेन्द्रले तयारी राम्रो रहेको भन्दै आफूहरुको लक्ष्य जित हात पार्ने नै भएको बताए। ‘हाम्रो तयारी निकै राम्रो भएको छ। हामी घरेलु मैदानको फाइदा उठाउँछौं’ कप्तान ज्ञानेन्द्रले भने।
त्रिवि क्रिकेट मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज सुरु हुँदैछ। उद्घाटन खेल नेपाल र ओमानबीच बिहान १० बजे सुरु हुनेछ। यता, ओमानका कप्तान जिसान मकसोदले आफूहरु जित्नकै लागि नेपाल आएको बताए। उनले भने, ‘हामी राम्रो क्रिकेट खेल्न चाहन्छौं। जितको लागि आएका हौं।’
यता, अमेरिकाले भने आफ्नो पहिलो खेलमा ओमानसँग बिहीबार प्रतिस्पर्धा गर्दैछ। अमेरिकाका कप्तान सौरभ नेत्रभल्करले तयारी निकै राम्रो भएको बताए। उनले भने‚ ‘हामीले भारतमा राम्रो तयारी गरेका छौं। आज नेपालविरुद्धको अभ्यास खेल पनि राम्रो भयो। हाम्रो लागि चुनौती निकै छ।’
तयारी पूरा
मंगलबार नै नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरी सिरिजको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। क्यानले मैदानदेखि दर्शकसम्मको राम्रो व्यवस्था गरेको दाबी गरेको छ। करिब ७ सय देखि ८ सय नेपाल प्रहरी खटिने भन्दै सुरक्षामा कुनै प्रश्न नरहेको पनि क्यानले जानकारी दिएको छ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘हामीले सम्पूर्ण तयारी सकेका छौं। सिरिज आयोजना गर्न हामीलाई चुनौतीसँगै अवसर पनि छ। हामी कसरी राम्रो गर्न सकिन्छ भन्नेमै छौं।’
हेड टु हेड
अहिलेसम्म नेपाल र ओमानबीच ५० ओभरको खेलमा ७ पटक प्रतिस्पर्धा भएको छ। जसमा ओमानले ४ खेलमा जित हात पार्दा नेपालले ३ खेलमा मात्रै जितेको छ।
सन् २००२ मा भएको एसीसी ट्रफिमा नेपालले पहिलो पटक ओमानसँग प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपालले ओमानलाई १०५ रनले पाखा लगाएको थियो। त्यसपछि २०१० मा भएको एसीसी ट्रफिमै ६ विकेटले ओमानलाई पराजित गरेको नेपालले सन् २०१३ मा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन-थ्री मा २८ रनले पराजित गरेको थियो।
यसपछि भने नेपालले ओमानसँग ५ खेलमा प्रतिस्पर्धा गरेको छ तर सबै नतिजा ओमानलाई सुम्पिएको तितो यथार्थ छ।
नेपालमाथि ओमानको विजयी सुरुवात सन् २०१४ एसिसी प्रिमियर लिगबाट भयो‚ जहाँ नेपाल ओमानसँग २ विकेटले पराजित भएको थियो।
सन् २०१५ मा भएको खेलमा दोस्रो पटक ओमानसँग नेपाल ३ विकेटले पराजित भएको थियो। २०१८ मा आयोजना भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन-टु मा ओमानसँग ६ विकेटले स्तब्ध बनेको नेपाल एसिया कप छनोटमा पनि ७ विकेटले पराजित भएको थियो।
पछिल्लो समयमा ब्यहोरेको हारको पूर्णविराम लगाउने नेपालको लक्ष्य छ। तर ओमान पनि कमजोर टिम भने होइन। एकपछि अर्को खेलमा नेपालमाथि हावी हुँदै आएको ओमान फेरि त्यस्तै नतिजा निकाल्ने लक्ष्यमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।