काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्यू रोड टिम (एनआरटी) लाई २–० ले हराएको छ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा ७८औँ मिनेटमा सन्जोग महर्जनको गोलमार्फत फ्रेन्ड्सले अग्रंता बनाएको थियो। त्यसको तीन मिनेटपछि नै फ्रेन्ड्सका लागि वाग्नर डि कार्मोले दोस्रो गोल गरे।
दशौँ चरणको अन्तिम खेल जितेसँगै फ्रेन्ड्सले १० खेलमा १४ अंक बनाएको छ। एनआरटीको १० खेलमा १५ अंक छ।
लिग तालिकामा १० खेलमा २३ अंकसहित त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ। दोस्रोमा रहेको मछिन्द्रको १० खेलमा २२ अंक छ। तेस्रोमा रहेको मनाङ मर्स्याङ्दी क्लबको १० खेलमा १९ अंक रहेको छ।
रेलिगेसन नजिक रहेको सरस्वती क्लबको १० खेलमा ४ अंक रहेको छ। पुछारबाट दोस्रोमा रहेको एपिएफको १० खेलमा ५ अंक छ।
लिगमा अब हरेक टिमको तीन खेल बाँकी रहेको छ। शीर्ष स्थानमा रहेका आर्मी र मछिन्द्रबीचको खेल नै लिगमा निर्णायक हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।