काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद (राखेप) को पहलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) मार्फत उनी नियुक्त भएका थिए।
पटवाल गएको जेठमा एक वर्षका लागि राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएका थिए। उनी मासिक ७ हजार अमेरिकी डलर लिने गरी नियुक्त भएका थिए।
आइसिसीमार्फत नियुक्त भएका उनले राजीनामा आइसिसीलाई नै बुझाएका हुन्। क्यान स्रोतले पनि राजीनामा बारेको जानकारी प्रष्ट रुपमा नआएको बताएको छ। ‘आइसिसी, राखेप र प्रशिक्षक पटवालबीच सम्झौता कुन रुपमा भएको थियो त्यो हामीलाई पनि थाहा भएन, अहिले राजीनामा बारे पनि अहिले हामीले बताउन सक्ने धेरै कुरा छैन’ स्रोतले भन्यो।
‘हामीले थाहा पाएको र तपाइँहरुले थाहा पाएको खबर उस्तै हो। हामी उहाँको निरन्तरता नै चाहिरहेका थियौँ, तर उहाँले हामीलाई जानकारी नदिइ उता राजीनामा बुझाउनु भएको हो। हामीले बोल्ने ठाउँ नै छैन। जसले बोल्ने हो त्यहाँबाट बोलिदिँदा ठीक होला, हामी आधिकारिक रुपमा आएपछि नै बोल्छौँ’ क्यान स्रोतले भन्यो।
नेपाल अहिले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिदेशीय सिरिजको तयारीमा लागिरहेको छ। सिरिज आउँदो २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रशिक्षक पटवालको राजीनामा सिरिज सकिए लगत्तै लागु हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।