काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले पहिलो खेल हारेको छ। मनाङलाई च्यासल युथ क्लबले २–० ले हराएको हो।
सोमबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा २४औँ मिनेटमा टागिया नाकामुराले च्यासलका लागि गोल गरेका थिए। उनले फ्रि किक बलमा गोल हानेका थिए। यस्तै अन्तिम थप समयमा सन्तोष साहुखलले च्यासलका लागि दोस्रो गोल गरेका हुन्।
च्यासलसँगको हारले उपाधि दाबेदारीमा रहेको मनाङलाई दबाब परेको छ। यसअघि ५ खेल जितेर चार खेल बराबरी खेलेको मनाङको यो नै पहिलो हार हो। मनाङको १० खेलमा १९ अंक छ। शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १० खेलमा २३ अंक र दोस्रो स्थानमा रहेको मछिन्द्रको १० खेलमा २२ अंक रहेको छ।
मनाङलाई हराएको च्यासलको १० खेलमा १२ अंक रहेको छ। जितसँगै च्यासल नवौँ स्थानमा उक्लिएको छ।
के भएको थियो यसअघिका खेल?
मनाङ मर्स्याङ्दी क्लब
जारी लिगमा अपराजित टिम मनाङ मर्स्याङ्दी क्लब मात्रै हो। मनाङले लिगको पहिलो खेलमा एपिएफलाई २–० ले हराएको थियो। दोस्रो खेलमा आर्मीलाई १–० ले हराएको मनाङले तेस्रो खेलमा बिग्रेड ब्वाइज क्लबलाई पनि १–० ले नै हरायो। मनाङले त्यसपछि लगातार चार खेल बराबरी खेल्यो।
चौथो खेलमा फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेलेको मनाङले लिगको पाँचौँ खेलमा मछिन्द्रसँग पनि २–२ गोलको बराबरी नै खेल्यो। छैठौँ खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो। सातौँ खेलमा थ्री स्टार क्लबसँग २–२ गोलको बराबरी खेल्यो। आठौँ खेलमा सरस्वती क्लबलाई १–० ले हरायो।

च्यासल युथ क्लब
लिगको पहिलो खेलमा च्यासल युथ क्लबले संकटा क्लबलाई २–० ले हराउँदै विजयी सुरुवात गरेको थियो। दोस्रो खेलमा मछिन्द्रसँग १–१ गोलको बराबरी खेलेको च्यासल तेस्रो खेलमा एनआरटीसँग २–१ ले हारेको थियो। च्यासल चौथो खेलमा जावलाखेलसँग २–० ले पराजित भयो।
लिगको पाँचौँ खेलमा पुलिस क्लबसँग २–२ गोलको बराबरी खेलेको च्यासलले छैठौँ खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो। सातौँ खेलमा भने च्यासल आर्मी क्लबसँग ३–० ले पराजित भयो। आठौँ खेलमा च्यासलले बिग्रेड ब्वाइज क्लबलाई १–० ले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।