काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले चौथो जित हात पारेको छ।
सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० गोलअन्तरले पराजित गरेको हो। जावलाखेलको जितमा सुजित बुढाथोकीले गोल गरे।
खेलको ११औं मिनेटमा बिबिसीका कप्तान अनिल गुरुङले कर्नरबाट आएको बलमा हेडर गोल गर्ने राम्रो मौका पाए। तर उनी सफल भएनन्। खेलको ३२औं मिनेटमा जावलाखेलका सुजितले भने पाएको मौका खेर फालेनन्। उनले गोल गर्दै जावलाखेललाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाए।
पहिलो हाफमा लिएको अग्रतालाई कायमै राख्दै जावलाखेलले बिबिसीलाई १–० गोलअन्तरले पराजित गरेको हो।
जितसँगै जावलाखेल लिगको छैटौं स्थानमा उक्लिएको छ। जावलाखेलको १० खेलबाट १५ अंक छ। पराजित बिबिसी भने १० खेलबाट ८ अंक बनाउँदै लिगको ११औं स्थानमा छ।
लिगको शीर्ष स्थानमा भने विभागीय क्लब त्रिभुवन आर्मी छ। आर्मीको १० खेलबाट २३ अंक हुँदा दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको समान खेलबाट २२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।