नेपालगन्ज- भारतको लखनउमा सम्पन्न पाचौं दक्षिण एशियाली महिला ह्यान्डबल च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरी स्वदेश फर्किएको नेपाली महिला ह्यान्डबल टोलीलाई नेपालगन्जमा भव्य स्वागत गरिएको छ।
भारतको लखनउबाट नेपालगन्ज हुँदै स्वदेश फर्किएको नेपाली टिमलाई मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समितिले एक समारोहको आयोजना गरी स्वागत गरेको हो। चैतको १७ देखि २० गतेसम्म भएको पाचौं दक्षिण एसियाली महिला ह्यान्डबल च्याम्पियनसिपमा बंगलादेशलाई हराउँदै नेपाली महिला ह्यान्डबल टिमले दोस्रो स्थान हासिल गरेको थियो।

विजयी टिमका खेलाडीहरुलाई सम्मान गर्दै पूर्व ओलम्पियन खेलाडी एवं प्रदेशसभा सदस्य सुरेन्द्र हमालले नेपाली महिला ह्यान्डबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको गौरव बढाएको बताउँदै खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य विनोद मैनाली एवं मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले खेलाडीहरुलाई आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
सरकार र राष्ट्रिय खेलकुद परिषद्बाट राम्रो सहयोग र प्रोत्साहन हुन सके दक्षिण एसियाली महिला ह्यान्डबल च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जित्न सक्ने सम्भावना रहेको बताउँदै त्यसतर्फ नेपाल ह्यान्डबल संघले पहल गर्ने संघका केन्द्रीय उपाध्यक्ष जयन्त शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।