काठमाडौं- ‘अब तीन खेल बाँकी छ, हरेक खेलमा ध्यान दिएर हामी उपाधिमा अघि बढ्ने छौँ’ त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले भनेको जस्तै खेल देखिएको पनि छ। पाँच खेल बाँकी हुँदा हरेक खेललाई एक खुड्किलोका रुपमा ब्याख्या गरेका उनी दुई खुड्किलोमा सफल भइसकेका छन्।
आर्मी लिगको आठौँ खेलमा न्यू रोड टिम (एनआरटी) सँग गोलरहित बराबरीमा रोकिए पनि नवौँ खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २-० ले हराएको थियो।
आइतबार दिउँसो त आर्मीले नेपाल पुलिस क्लबलाई ४-२ ले हराएन मात्र, आफ्नो विजेता बन्न सक्ने आफ्नो छबि नै बनायो। दुई पटक पछि परिसकेको खेलमा फर्किएर जित निकाल्यो।
१० खेलमा २३ अंकसहित शीर्ष स्थान। त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको १०औँ चरणमा नेपाल पुलिस क्लबलाई हराउँदै फर्काएको शीर्ष स्थान २२ अंकसहित दोस्रोमा रहेको मछिन्द्र र १९ अंकसहित तेस्रोमा रहेको मनाङ मर्स्याङ्दीलाई विशेष चुनौती हुनेछ।
हुन त जारी लिगमा पुलिस क्लबको सबैभन्दा राम्रो खेल कुन हो भनेर हेर्ने हो भने अगाडि आर्मीसँग हारेको खेल नै आउला।
२०औँ मिनेटमा बुद्ध बल तामाङको गोलमा पुलिसले बनाएको अग्रताले पनि उनीहरुको खेलमा देखिएको तीब्रतालाई संकेत गरेको थियो।

पहिलो गोलको अग्रता १४ मिनेटपछि गुमाएको पुलिसले निकै राम्रा मुभहरु बनाउने र बल बढाउने शैली आर्मीविरुद्ध राम्रो देखिएको थियो। ३४औँ मिनेटमा आर्मीका लागि सुमन अर्यालले बराबरी गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो।
खेलको ५८औँ मिनेटमा मान बहादुर परियारको गोलमा पुलिसले फेरि पनि अग्रता बनाउन सक्यो। तर तीन अंकका लागि बढेको पुलिस अग्रतापछि पनि डिफेन्सिभ भएर सम्हालिन सकेन। निरन्तर दबाब बढाइरहेको आर्मीका लागि ७७औँ मिनेटमा नवयुग श्रेष्ठले दोस्रो पटक खेल बराबरीमा लगे।
दोस्रो अग्रता पनि गुमाएको पुलिसमा त्यसपछि डिफेन्समा कमजोरी देखिन सुरु भयो। ८५औँ मिनेटमा नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अगाडि बढाए। ८९औँ मिनेटमा पुलिस डिफेन्समा बिग्रिएको तालमेल आर्मीका लागि पुनः फाइदाजनक बन्यो। सुदिल राइले गोल गर्दै टिमलाई ४-२ को जित दिलाए।

खेलभर आर्मी टिममा देखिएको जितको इच्छा बलियो पाटो बन्यो। दुई पटक पछि परिसकेको टिम कुनै पनि अवस्थामा हार मानेन। यसैले पुलिसका प्रशिक्षक अनन्त थापालाई पनि आर्मी टिमको खेलको तारिफ गर्न करै लाग्यो।
‘आर्मीले हानेको बलहरु सबै सक्सेस भएर उनीहरु राम्रो भए। गोलका अवसर उनीहरुले खेर फालेनन्। हाम्रो युवा खेलाडीको पनि स्पीड राम्रो देखिएको हो तर, लिगमा सबैभन्दा राम्रो स्पीड भएको टिम आर्मी नै हो’ पुलिस प्रशिक्षक अनन्तले भने।
२०१४ सालमा आर्मी ११ टिमले लिग जितेपछि नेपाल आर्मीको उपस्थिति लिगमा विजेतासम्म पुग्न सकेको छैन। यसैले यसपटक प्रशिक्षक नवीन मात्र होइन खेलाडीहरु पनि विजेताको लक्ष्यमा सुरुदेखि नै लागिपरेका थिए। उनीहरुको उद्देश्य र सोचअनुरुप खेल बढीरहेको पनि छ।

शीर्ष स्थानमा रहेको आर्मीले अब दोस्रो स्थानमा रहेको मछिन्द्रसहित बिग्रेड ब्वाइज र एपिएफसँग खेल्न बाँकी छ। यस्तै मछिन्द्रले आर्मीसहित संकटा र सरस्वतीसँग खेल्न बाँकी छ।
मछिन्द्र र आर्मीबीचको खेलले धेरै विषय प्रष्ट पार्ने भए पनि अहिलेसम्म एक खेल पनि नहारेको मनाङ मस्र्याङ्दीको अवस्था पनि बलियो बन्दै गएको छ। तेस्रो स्थानमा रहेको मनाङले अब एनआरटी, जावलाखेल, पुलिस र च्यासल युथ क्लबसँग खेल्न बाँकी छ।
यसअघि लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-१ ले हराएको आर्मी क्लबले दोस्रो खेलमा हार्न पुग्यो। मनाङ मर्स्याङ्दीसँग १-० ले हारेपछि तेस्रो खेलमा आर्मीले हिमालयन शेर्पा क्बललाई २-० ले हरायो।

चौथो खेलमा थ्री स्टारलाई पनि २-० ले नै हराएको आर्मीले पाँचौँ खेलमा सरस्वती युथ क्लबलाई १-० ले हरायो। छैठौँ खेलमा संकटासँग १-१ को बराबरी खेलेको आर्मीले सातौँ खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो।
आठौँ खेलमा आर्मी एनआरटीसँग गोलरहित बराबरीमा रोकियो। नवौँ खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो।
लक्ष्य उपाधि नै हो - नवीन न्यौपाने (प्रशिक्षक, आर्मी क्लब)
मुख्य कुरा खेलाडीले गरेको कडा मेहनत देखिएको छ। कमब्याक गरेर जित्न सक्यौँ। पहिलो हाफमा पाएका अवसरहरु गोल गर्न सकेका थिएनौँ। दुई वटा गोल सेट बलमा नै भयो। म्यान टु म्यान चेकमा चुक्दा गोल खान पुगेका थियौँ। हाम्रो लक्ष्य भनेको नै जित हो। त्यसैले तीन अंकका लागि खेल्नुपर्छ भन्ने नै थियो। हामीले दोस्रो गोल गर्न सकेपछि त त्यो पनि मिलिहाल्यो।

पछिल्लो समय त हामीले राम्रो दबाब दिन सक्यौँ। विङ्गरमा खेल्ने खेलाडीहरुको क्रस पास राम्रो भइरहेको छ। त्यसैले प्राय गोलहरु त्यसरी नै बनिरहेको छ। हामीलाई जसरी पनि जित्नु छ भन्ने सोचले गोलमा बढ्न सहयोग पनि गरेको हो। मछिन्द्र, आर्मी र मनाङ नै अगाडि देखिएको छ। हामीले पाँच खेल बाँकी हुँदा अब पाँच स्टेप छ हरेक स्टेपलाई सोचेर बढ्नुपर्छ भनेका थियौँ। दुई स्टेप सोचेको जस्तो भयो अब तीन स्टेप बाँकी छ। त्यसमा पनि पार गर्दै गएर उपाधि जित्ने सपना बनाएका छौँ। लिग च्याम्पियन यसै बनिँदैन। सामूहिक रुपमा बढ्दै जाँदा राम्रो हुनेछ।

हाम्रो खेल राम्रो थियो - अनन्त थापा (प्रशिक्षक, पुलिस क्लब)
आजको खेल हामीले ३ अंकको लागि खेल्ने भनेर अट्याकिङ शैलीमा जाने सोचेका थियौँ। त्योअनुसार गोल पनि समयमा नै भएको थियो। त्यसपछि पनि हामीले अट्याकमा नै बढीरहेका थियौँ। तर पहिलो गोल निकै नराम्रो गल्तीका कारण खान पुग्यौँ। पूरै खेललाई हेर्दा हामीले राम्रो नै खेलेको हो। गोल संख्याले जे बताएको भए पनि आज हामीले मैदानमा राम्रो खेल नै खेलेको हो। आजको खेलबाट धेरै कुरा सकरात्मक देखिएको छ।
.jpg)
आर्मीले हानेको बलहरु सबै सक्सेस भएर उनीहरु राम्रो भए। हाम्रो युवा खेलाडीको स्पीड राम्रो देखियो। लिगमा सबैभन्दा राम्रो स्पीड भएको टिम आर्मी हो। उसलाई पनि हामीले स्पीडले बिट गर्न सक्नु भनेको राम्रो कुरा हो। यसले आउने दिनका लागि राम्रो संकेत गरेको छ। हाम्रो पछिल्लो दुई गोल डिफेन्समा देखिएको कमजोरीले खायौँ। अरु खेलमा पनि हाम्रो डिफेन्समा कमजोरीहरु देखिइरहेको छ। च्यासलसँग पनि लिड लिएपछि बिग्रिएको थियो। डिफेन्सिभमा देखिएको समस्या आउँदो दिनमा सुधार गर्दै जानुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।