काठमाडौं- नेपालका युवा स्टार खेलाडी सन्दीप लामिछानेले त्रिदेशीय सिरिजमा लिएको एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ निर्माणाधिन गौत्तम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने भएका छन्।
आइतबार सन्दीपले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगका त्रिदेशीय सिरिजमा आफूले लिएको १ विकेट बराबर र ८ हजार ८ सय ४८ रुपैयाँ निर्माणाधिन गौत्तम बुद्ध अन्तराष्ट्रिय रंगशालालाई सहयोग गर्ने घोषणा गरेका हुन्।
चितवनमा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेको गौत्तम बुद्ध अन्तराष्ट्रिय रंगशालालाई देश विदेशबाट सहयोग जुटिरहेका छन्। यहि क्रममा सन्दीप लामिछाने पनि क्रिकेटलाई विकास गर्ने भन्दै रंगशालालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
‘क्रिकेटको विकास गर्न सानो सहयोग गर्न लागेको हो। मैले त्रिदेशीय सिरिजमा लिएको १ विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्दैछु’, सन्दीपले नेपाल लाइभसँग भने।
तर किन ८ हजार ८ सय ४८ रुपैयाँ नै ? ‘८ हजार ८४८ विश्वका सर्वोच्च शिखर सगरमाथाको उचाइ हो। अहिले नेपालमा पर्यटन वर्ष २०२० चलिरहेको छ। क्रिकेट र पर्यटनलाई जोडेर सहयोग गर्न लागेको हुँ’, सन्दीपले भने।
आउँदो २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नेपाल, अमेरिका र ओमानबीच त्रिदेशीय क्रिकेट सिरिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।