काठमाडौं- विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पुलिसलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको रोमाञ्चक खेलमा आर्मीले पुलिसलाई ४–२ गोलअन्तरले पराजित गरेको हो। आर्मीका लागि नवयुग श्रेष्ठले २ गोल गर्दा सुमन अर्याल र सुदिल राईले समान १–१ गोल गरे। यता, पुलिसका लागि बुद्ध तामाङ र मान बहादुर परिहारले गोल गरे।
पुलिसले लिएको दुई पटकको अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो। खेलमा सुरुवाती अग्रता भने पुलिसले लिएको थियो। खेलको २०औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। उनले निरकुमार राईको फ्रिकिकमा हेडर गोल गरेका थिए।
खेलको ३४औं मिनेटमा आर्मीले गोल फर्कायो। सन्तोष तामाङले फ्रिकिकबाट प्रहार गरेको बललाई सुमनले पोष्ट नजिकैबाट हेडमार्फत गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरी दिलाए।
पहिलो हाफमा १–१ गोलको बराबरीमा टुंगिएको खेल दोस्रो हाफमा आर्मीले ३ गोल थप्दा पुलिसले १ गोल मात्रै गर्न सफल भयो। दोस्रो हाफमा अग्रता पनि पुलिसले नै लिएको थियो। खेलको ५८औं मिनेटमा निरकुमार राईले कर्नरबाट प्रहार गरेको बललाई मानबहादुरले हेडबाटै गोल गरे। योसँगै पुलिसले फेरि २–१ गोलको अग्रता बनायो। तर ७७औं मिनेटमा भने नवयुगले हेडर गोल गर्दै आर्मीलाई फेरि २–२ गोलको बराबरी दिलाए।
खेल निकै रोमाञ्चक भइरहेको थियो। खेलको ८४औं मिनेटसम्म २–२ गोलको बराबरी स्थिति थियो। तर त्यसपछिका ५ मिनेटमा आर्मीले दुई गोल थप्न सफल भयो। पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै आर्मीका नवयुगले खेलको ८५औं मिनेटमा डिबक्सभित्र पाएको बललाई जाली चुमाउँदै ३–२ गोलको अग्रता दिलाए। त्यसको चार मिनेटपछि नै आर्मीले फेरि अर्को गोल थप्यो। यो पटक भने सुदिलले गोल गरे। योसँगै आर्मीले पुलिसमाथि ४–२ गोलको जित निकाल्दै लिगमा शीर्ष स्थान ओगटेको हो।
आर्मीले १० खेलबाट ७ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार ब्यहोर्दै २३ अंक बनाएको छ। लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको समान १० खेलबाट २२ अंक छ। एक खेल कम खेलेको मनाङको १९ अंक मात्रै छ। यता पराजित पुलिस भने लिगको सातौं स्थानमा छ।
लिग अन्तर्गत नै सोमबार पनि २ खेल हुँदै छन्। पहिलो खेलमा जाउलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबसँग एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले च्यासल युथ क्लबसँग दिउँसो ३ बजे खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।