काठमाडौं- लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा २२ अंकको फराकिलो अग्रता बनाएको छ।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दूरी लिभरपुलले २२ अंकमा पुर्याएको हो। फराकिलो अन्तरको अग्रता बनाउने क्रममा लिभरपुलले शनिबार राति साउथह्याम्पटनलाई ४–० गोलअन्तरले पराजित गर्न सफल भयो।
लिभरपुलको जितमा मोहम्मद सलाहले २ गोल गर्दा जोर्डन हेन्डरसन र एलेक्स च्याम्बरलिनले समान १–१ गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको घरेलु टोली लिभरपुलले दोस्रो हाफमा ४ गोल थप्दा साउथह्याम्पटनको केही चलेन।
खेलको ४७औं मिनेटमा च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ६०औं मिनेटमा हेन्डरसनले गोल गर्दा लिभरपुलको अग्रता २–० मा पुग्यो। खेलको ७१औं र ९०औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ४–० गोलको जित दिलाए।
गएराति नै भएका अन्य खेलमा लेष्टरले चेल्सीलाई २–२ गोलको बराबरीमा रोक्दा वोल्भ्सले पनि म्यानचेस्टर युनाइटेडलाई गोलरहित बराबरीमा रोक्न सफल भयो।
लिभरपुलको यो जितसँगै उपाधि रक्षा झनै बलियो बनेको छ। २५ खेलबाट ७३ अंक बनाएको लिभरपुल भन्दा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २२ अंकले पछि छ। सिटीको २४ खेलबाट ५१ अंक छ। लिगको तेस्रो स्थानमा रहेको लेष्टरको २५ खेलबाट ४९ र चौथो स्थानमा रहेको चेल्सीको समान २५ खेलबाट ४१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।