काठमाडौं- किताब यात्रा फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘किताब जात्रा’को दोस्रो सेसनको बहस थियो- दशकका सुख-दुःख : समाज, साहित्य र समाचार।
बहसमा सहमागी थिए कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा, लेखक तथा चिन्तक आहुति र लेखक अर्चना थापा। सहजकर्ता थिए पत्रकार टीकाराम यात्री।
बहसमा सम्पादक शर्माले सञ्चार र साहित्यको विकास समानान्तर र परिपूरक भएको बताए। तर, अहिले सबैका हातहातमा प्रविधि भएकाले पत्रकारको पहिचानमाथि चुनौती थपिएको आशय राखे।
‘लेखनका हिसाबमा पहिले मेहनत गरेर गहिराइमा गएर जान सकिन्थ्यो। तर अहिले परिश्रम नगर्ने स्वभाव बनिरहेको छ। चाहे त्यो लेख वा किताबबाट होस्। तुरुन्तै प्रतिक्रिया आउँछ। त्यसैले लेखन वा पठन संस्कृतिमा चुनौती आउने सम्भावना छ,’ उनले भने।
लेखक तथा चिन्तक आहुतिले एक दशकमा मानिसको चेतनामा जागरुकता आएको बताए। तर चेतनामा भने प्रतिगमन भएको उनको चिन्ता थियो। ‘ठूलो कुरा प्रगतिशील चेतनामा प्रतिगमन भयो। त्यो डरलाग्दो कुरा हो। बौद्धिकीहरू सबै बजारको माल बन्यो। ठूलो षड्यन्त्रकारी समयमा छौँ हामी अहिले,’ आहुतिले भने। यसकै कारण जागरणले मात्र समग्र संरचनामा परिवर्तन ल्याउन नसकेको उनको तर्क थियो। ‘हामी एउटा कुनामा बसेर कराउँछौँ। तर तर राज त गैंडालाई 'राइनो' बनाउनेले गरिरहेका छन् नि,’ आहुतिले व्यंग्य पोखे।
लेखिका अर्चना थापाले भने साहित्यका विभिन्न विधामा विभिन्न शैली, विषयवस्तु र प्रस्तुतिलाई हेर्दा सकारात्मक परिवर्तन केलाउन सकिने मत राखिन्। यद्यपि, डिजिटल मिडियाका कारण लेखनमा मेहनत कम देखिएको उनको भनाइ थियो।
‘अहिले पुस्तकमा करका कुरा आइरहेका छन्। यसले पाठकमा समस्या ल्याइरहेको छ। रिसर्च गर्ने विद्यार्थीको लागि लाइब्रेरी र चाहेको जस्तो किताब छैन,’ उनले भनिन्, ‘ज्ञानलाई प्रश्न गर्ने र र चुनौती दिने प्रकृति भए पनि लेखनमा भने मेहनत कम हुँदै गएको छ।’
संकटमा पत्रकारिता
सहजकर्ता यात्रीले प्रश्न तेस्र्याए, ‘अहिले हरेक महोत्सवमा लेखकभन्दा पत्रकार बढी हुन्छन्। पत्रकार भएन भने महोत्सव चल्दैन हो?’
लेखिका थापाले पत्रकारितामाथि व्यंग्य गर्दै भनिन्, ‘समाचार नि साहित्यिक नै पो हुन् कि। अहिले समाचारमा पनि साहित्य देखिन थालेको छ। साहित्य हो कि समाचार छुट्याउन गाह्रो छ।’
पत्रकार शर्माले सहमति जनाउँदै पत्रकारिता पनि संकटमा गइरहेकोमा सहमति जनाए। ‘अर्चनाका कुरामा सहमति जनाउँदै भन्छु पत्रकारितामा त्यस्तै समस्या भइरहेको छ। जे पनि लेख्न र भन्न त पाइँदैन। राज्यको सीमाभित्र बसेपछि कतिसम्म दिने/नदिने भन्न कुराको सीमा हुनुपर्छ। हामी संक्रमणबाट गुज्रिरहेका छौँ,’ शर्माले भने।
यसमा फरक मत राख्दै आहुतिले आम मानिसको हातमा मिडिया पुग्नु गलत नभएको बताए। ‘समाज आफैंले त्यसलाई मिलाउँदै गएको छ। हातहातमा मिडिया पुग्नु गलत हैन। पुँजीपतिको हातमा मिडिया छ। त्योबाट खोस्न कठिन छ। कर्पोरेट मिडियालाई छिचोल्न आम मानिसले घेर्नुपर्छ। पुँजीपति वर्गको कब्जामा मिडिया हाउस जाँदैछ,’ आहुतिले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।