काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अब सबै १४ टिमले चार/चार खेल खेल्न बाँकी छ। नौं खेल सकिँदा २० अंकसहित त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ। मछिन्द्र र मनाङ मर्स्याङ्दी क्लबको समान १९ अंक छ।
अंक तालिकामा चौथो स्थानमा रहेको न्यू रोड टिमको १५ अंक रहेको छ। पाँचौँ स्थानको नेपाल पुलिस क्लब र छैठौँ स्थानमा रहेको थ्री स्टारको समान १४ अंक छ। यसैले बाँकी रहेका खेलमा नै उपाधि के हुने भन्ने निक्यौल हुनेछ।
छैठौँ स्थानबाट तल रहेका जावलाखेलको १२, संकटाको १२, फ्रेन्ड्सको ११, च्यासलको ९, बिग्रेड ब्वाइज क्लबको ८ साथै हिमालयन शेर्पाको ७ अंक रहेको छ।
१३औँ स्थानमा रहेको एपिएफको ५ अंक रहेको छ। एन्फाको एक टिम मात्र रेलिगेसन गर्ने नियम अनुसार अहिले जोनमा देखिएको सरस्वती युथ क्लबको ४ अंक रहेको छ।
प्राय खेलमा आफूहरुको फिनिसिङ राम्रो हुन नसकेको र खेलमा तालमेल मिले पनि गोलमा बढ्दा कमजोरी भएकाले पछि पर्नुपरेको सरस्वती क्लबका प्रशिक्षक प्रदीप नेपाल बताउँछन्।
‘हाम्रो फिनिसिङमा कमजोरी देखिएको छ। पाएको बल पनि गोल हार्न सकेका छैनौँ। अब कोशिस गर्ने नै हो। त्योबाहेक अरु उपाय पनि छैन। मेहनत गरेर खेल्ने नै हो’ सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले बताए।
महत्वपूर्ण खेलमा कसको खेल कोसँग?
सरस्वती युथ क्लबले अब दोस्रो स्थानमा रहेको मछिन्द्रसहित थ्री स्टार, संकटा र च्यासल युथ क्लबसँग खेल्न बाँकी रहेको छ। रेलिगेसनबाट बाँच्न आफ्नो खेलको नतिजासँगै अन्य खेलको नतिजाले पनि सरस्वतीलाई असर गर्नेछ।
तालिकाको मध्यमा रहने टिमले समेत अझै उपाधिमा दाबेदारी दिन मिल्ने गरेर अघि बढेको लिगमा शीर्ष चार टिमको खेल उपाधिमा महत्वपूर्ण हुनेछ। शीर्ष स्थानमा रहेको नेपाल आर्मी क्लबले अब दोस्रो स्थानमा रहेको मछिन्द्रसहित पुलिस, बिग्रेड ब्वाइज र एपिएफसँग खेल्न बाँकी छ। यस्तै मछिन्द्रले आर्मीसहित संकटा, एपिएफ र सरस्वतीसँग खेल्न बाँकी छ।
.JPG)
मछिन्द्र र आर्मीबीचको खेलले धेरै विषय प्रष्ट पार्ने भए पनि अहिलेसम्म एक खेल पनि नहारेको मनाङ मर्स्याङ्दीको अवस्था पनि बलियो बन्दै गएको छ। तेस्रो स्थानमा रहेको मनाङले अब एनआरटी, जावलाखेल, पुलिस र च्यासल युथ क्लबसँग खेल्न बाँकी छ।
यस्तै थ्री स्टारले अब एनआरटी, संकटा, च्यासल र सरस्वती युथ क्लबसँग खेल्न बाँकी रहेको छ। सबै दाबेदार टिमका प्रशिक्षकहरु लिगमा के हुने भन्ने अनुमान कठीन भएको र कुनै टिमलाई कमजोर आँक्न नमिल्ने बताउँछन्।
‘हामीलाई खेल सजिलो छैन, कठीन नै छ। सबै टिमहरु माथि माथि आउँदै छन्। अहिलेसम्म गरेको भन्दा डब्बल मेहनत गर्नुपर्ने देखिन्छ। तर अहिलेको लागि हाम्रो सोच माथि टिकिराख्ने र उपाधिमा बढ्ने नै हो’ मनाङ मर्स्याङ्दीका प्रशिक्षक धनेश्वर प्रजापतिले भने।डिफेन्डिङ च्याम्पियन मनाङले गएको सिजन आठ अंकको अग्रता बनाएर कीर्तिमानी आठौँ पटक लिगको उपाधि जितेको थियो। यसपटक उपाधि जोगाउन भने गएको सिजनको जस्तो सहज देखिँदैन।
.JPG)
आर्मीका प्रशिक्षक नवीन न्यौपाने र मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल पनि लिग उपाधि बढ्न सहज नरहेको बताउँछन्। ‘अब आउने हरेक खेल महत्वपूर्ण छ। हामीले प्रत्येक खेललाई हेर्दै अगाडि बढ्नुपर्ने छ। यसपटक उपाधि जित्ने योजनामा नै छौँ, हेरौँ के हुन्छ’ आर्मीका प्रशिक्षक न्यौपानेले भने।
सर्वाधिक गोलमा साहुखल नै अघि
लिगमा सबै टिमको नौ खेल सकिँदा च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखल ६ गोलसहित सर्वाधिक गोलको शीर्ष स्थानमा छन्।
यसैगरी टिम रेलिगेसन नजिक देखिए पनि एपिएफका आशिष लामा गोल तालिकामा माथि छन्। उनले अहिलेसम्म पाँच गोल गरिसकेका छन्।
मनाङ मर्स्याङ्दीका बिमल राना, फ्रेन्ड्सका उत्तम राई, पुलिस क्लबका सुमन लामा, आर्मी क्लबका नवयुग श्रेष्ठ सबैको समान चार गोल रहेको छ।

लिगमा तीन गोल गरेका खेलाडीमाहरुमा सरस्वती युथका कजिम बुसारी, मछिन्द्रका सोमिडे एडेलेजा, आर्मीका भरत खवास, एनआरटीका दर्शन गुरुङ, मनाङ मर्स्याङ्दीका अन्जन बिष्ट र संकटा क्लबका अजय मार्टिन्स कायोडे रहेका छन्।
लिगमा अहिलेसम्म १ सय २६ खेलमा १ सय १८ गोल भएको छ। ६७ जना खेलाडीले गोल गरेका छन्। त्यसमा दुई गोल गर्ने खेलाडी १८ जना छन् भने एक गोल गर्ने खेलाडी ३७ जना रहेका छन्।
कुन क्लबको नतिजा कस्तो?
त्रिभुवन आर्मी क्लब
लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-१ ले हराएको आर्मी क्लबले दोस्रो खेलमा हार्न पुग्यो। मनाङ मर्स्याङ्दीसँग १-० ले हारेपछि तेस्रो खेलमा आर्मीले हिमालयन शेर्पा क्बललाई २-० ले हरायो।
लिगको चौथो खेलमा थ्री स्टारलाई पनि २-० ले नै हराएको आर्मीले पाँचौँ खेलमा सरस्वती युथ क्लबलाई १-० ले हरायो। छैठौँ खेलमा संकटासँग १-१ को बराबरी खेलेको आर्मीले सातौँ खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो। आठौँ खेलमा आर्मी एनआरटीसँग गोलरहित बराबरीमा रोकियो। नवौँ खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो।
मछिन्द्र क्लब
मछिन्द्र क्बलले लिगको पहिलो खेलमा बिग्रेड ब्वाइज क्लबलाई २-० ले हराएको थियो। दोस्रो खेलमा च्यासल युथ क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-० ले हराएको मछिन्द्रले चौथो खेलमा एनआरटीलाई १-० ले हरायो।
लिगको पाँचौँ खेलमा मनाङ मर्स्याङ्दीसँग २-२ गोलको बराबरी खेलेको मछिन्द्रले छैठौँ खेलमा जावलाखेललाई १-० ले हराएको थियो। सातौँ चरणमा पुगेर पहिलो हार भोगेको मछिन्द्र हिमालयन शेर्पासँग २-० ले हारेको थियो। आठौँ खेलमा मछिन्द्रले पुलिस क्लबलाई १-० ले हराएको थियो। नवौं खेलमा मछिन्द्रले थ्री स्टारलाई २-० ले हराएको थियो।
मनाङ मर्स्याङ्दी क्लब
जारी लिगमा अपराजित टिम मनाङ मर्स्याङ्दी क्लब मात्रै हो। मनाङले लिगको पहिलो खेलमा एपिएफलाई २-० ले हराएको थियो। दोस्रो खेलमा आर्मीलाई १-० ले हराएको मनाङले तेस्रो खेलमा बिग्रेड ब्वाइज क्लबलाई पनि १-० ले नै हरायो। मनाङले त्यसपछि लगातार चार खेल बराबरी खेल्यो।
चौथो खेलमा फ्रेन्ड्ससँग १-१ गोलको बराबरी खेलेको मनाङले लिगको पाँचौँ खेलमा मछिन्द्रसँग पनि २-२ गोलको बराबरी नै खेल्यो। छैठौँ खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो। सातौँ खेलमा थ्री स्टार क्लबसँग २-२ गोलको बराबरी खेल्यो। आठौँ खेलमा सरस्वती क्लबलाई १-० ले हरायो। मनाङले नवौँ खेलमा संकटालाई ३-० ले हराएको थियो।
.jpg)
न्यू रोड टिम (एनआरटी)
जारी लिगमा एनआरटीले पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४-० को फराकिलो अन्तरले हराएको थियो। दोस्रो खेलमा संकटा क्लबसँग १-० ले हारेको एनआरटीले तेस्रो खेलमा च्यासल युथ क्लबलाई २-१ ले हरायो। चौथो खेलमा मछिन्द्रसँग १-० ले पराजित भयो।
लिगको पाँचौँ खेलमा जावलाखेलसँग गोलरहित बराबरी खेलेको एनआरटीले छैठौँ खेलमा पुलिस क्लबलाई १-० ले हराएको थियो। सातौँ खेलमा एपिएफलाई ३-२ ले हराएको एनआरटीले आठौँ खेलमा आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको थियो। नवौँ खेलमा एनआरटीले बिग्रेड ब्वाइजलाई २-० ले हराएको थियो।
नेपाल पुलिस क्लब
लिगको पहिलो खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो। दोस्रो खेलमा थ्री स्टारसँग १-० ले पराजित पुलिसले तेस्रो खेलमा सरस्वती युथ क्लबलाई २-० ले हरायो। चौथो खेलमा संकटालाई २-१ ले हरायो।
पुलिस क्लबले लिगको पाँचौँ खेलमा च्यासल युथ क्लबसँग २-२ गोलको बराबरी खेल्यो। छैठौँ खेलमा एनआरटीलाई १-० ले हराएको पुलिसले सातौँ खेलमा जावलाखेललाई २-० ले हराउन सक्यो। आठाँै खेलमा पुलिस क्लब मछिन्द्रसँग १-० ले पराजित हुन पुग्यो। नवौँ खेलमा पुलिसले एपिएफलाई १-० ले हराएको थियो।
थ्री स्टार क्लब
लिगको पहिलो खेल जावलाखेल युथ क्लबसँग बराबरी खेलेको थ्री स्टारले दोस्रो खेलमा पुलिस क्लबलाई १-० ले हराएको थियो। तेस्रो खेलमा एपिएफलाई १-० ले नै हराएको थ्री स्टार चौथो खेलमा आर्मीसँग २-० ले पराजित भएको थियो।
लिगको पाँचौँ खेलमा बिग्रेड ब्वाइज क्लबलाई ३-१ ले हराएको थ्री स्टार छैठौँ खेलमा फ्रेन्ड्ससँग १-० ले पराजित भएको थियो। सातौँ चरणको खेलमा थ्री स्टारले मनाङ मर्स्याङ्दीसँग २-२ गोलको बराबरी खेलेको थियो। आठौँ खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ३-१ ले हरायो। नवौँ खेलमा थ्री स्टार मछिन्द्रसँग २-० ले पराजित भएको थियो।
.jpg)
जावलाखेल युथ क्लब
लिगको पहिलो खेलमा जावलाखेलले थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १-० ले हराएको जावलाखेलले तेस्रो खेलमा संकटासँग १-१ गोलको बराबरी खेलेको थियो। लिगको चौथो खेलमा च्यासललाई २-० ले हराएको जावलाखेलले पाँचौँ खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो।
छैठौँ खेलमा पहिलो हार भोगेको जावलाखेल मछिन्द्रसँग १-० ले हारेको थियो। त्यसपछि सातौँ खेलमा जावलाखेल पुलिस क्लबसँग २-० ले हार्न पुग्यो। आठौँ खेलमा जावलाखेलले एपिएफलाई १-० ले हराएको थियो। नवौँ खेलमा जावलाखेल आर्मी क्लबसँग १-० ले पराजित भएको थियो।
संकटा क्लब
लिगको पहिलो खेलमा संकटा क्लब च्यासल युथ क्लबसँग २-० ले पराजित भएको थियो। दोस्रो खेलमा एनआरटीलाई १-० ले हराएको संकटा तेस्रो खेलमा जावलाखेलसँग १-१ गोलको बराबरीमा रोकियो। चौथो खेलमा संकटा नेपाल पुलिस क्लबसँग २-१ ले हारेको थियो।
लिगको पाँचौँ खेलमा संकटा क्लबले एपिएफलाई ४-२ ले हराएको थियो। छैठौँ खेलमा संकटाले आर्मी क्बलसँग १-१ गोलको बराबरी खेल्यो भने सातौँ खेलमा बिग्रेड ब्वाइज क्लबसँग गोलरहित बराबरी भएको थियो। आठौँ खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १-० ले हरायो। नवौँ खेलमा संकटा मनाङ मर्स्याङ्दीसँग ३-० ले पराजित भएको थियो।
च्यासल युथ क्लब
लिगको पहिलो खेलमा च्यासल युथ क्लबले संकटा क्लबलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको थियो। दोस्रो खेलमा मछिन्द्रसँग १-१ गोलको बराबरी खेलेको च्यासल तेस्रो खेलमा एनआरटीसँग २-१ ले हारेको थियो। च्यासल चौथो खेलमा जावलाखेलसँग २-० ले पराजित भयो।
लिगको पाँचौँ खेलमा पुलिस क्लबसँग २-२ गोलको बराबरी खेलेको च्यासलले छैठौँ खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो। सातौँ खेलमा भने च्यासल आर्मी क्लबसँग ३-० ले पराजित भयो। आठौँ खेलमा च्यासलले बिग्रेड ब्वाइज क्लबलाई १-० ले हरायो। नवौँ खेलमा च्यासल फ्रेन्ड्ससँग १-० ले पराजित भएको थियो।
.jpg)
बिग्रेड ब्वाइज क्लब
बिग्रेड ब्वाइज क्लब लिगको पहिलो खेलमा मछिन्द्र क्लबसँग २-० ले हारेको थियो। दोस्रो खेलमा फ्रेन्ड्ससँग २-० ले नै हारेको बिग्रेड ब्वाइज तेस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो। चौथो खेलमा हिमालयन शेर्पा क्लबलाई १-० ले हराउँदै बिग्रेड ब्वाइजले पहिलो जित निकालेको थियो।
लिगको पाँचौँ खेलमा थ्री स्टार क्लबसँग ३-१ ले हारेको बिग्रेड ब्वाइजले छैठौँ खेलमा सरस्वती क्लबसँग गोलरहित बराबरी खेलेको थियो। बिग्रेड ब्वाइजले सातौँ खेलमा संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो। आठौँ खेलमा बिग्रेड ब्वाइज क्लब च्यासलसँग १-० ले पराजित भयो। नवौँ खेलमा ब्रिगेड ब्वाइज एनआरटीसँग २-० ले पराजित भएको थियो।
फ्रेन्ड्स क्लब
लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब त्रिभुवन आर्मी क्लबसँग २-१ ले पराजित भएको थियो। फ्रेन्ड्स दोस्रो खेलमा बिग्रेड ब्वाइज क्लबसँग २-० ले पराजित भयो। तेस्रो खेलमा मछिन्द्रसँग ३-० ले हार्न पुग्यो। चौथो खेलमा पहिलो अंक जोडेको फ्रेन्ड्सले मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो।
लिगको पाँचौँ खेलमा हिमालयन शेर्पासँग पनि फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै एक अंक जोड्यो। छैठौँ खेलमा थ्री स्टार क्लबलाई १-० ले हराएर पहिलो जित निकालेको फ्रेन्ड्सले सातौँ खेलमा सरस्वती युथ क्लबलाई ४-१ ले हरायो। आठौँ खेलमा फ्रेन्ड्स संकटा क्लबसँग १-० पराजित भयो। नवौँ खेलमा फ्रेन्ड्सले च्यासललाई १-० ले हराएको थियो।
हिमालयन शेर्पा क्लब
लिगको पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको हिमालयन शेर्पा क्लबले दोस्रो खेलमा एपिएफसँग १-१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा आर्मीसँग २-० ले हारेको शेर्पा चौथो खेलमा बिग्रेड ब्वाइजसँग १-० ले हारेको थियो।
हिमालयन शेर्पाले लिगको पाँचौँ खेलमा फ्रेन्ड्ससँग र छैठौँ खेलमा मनाङ मर्स्याङ्दीसँग गोलरहित बराबरी नै खेलेको थियो। सातौँ खेलमा भने हिमालयन शेर्पा मछिन्द्रसँग २-० ले पराजित भएको थियो। आठौँ खेलमा हिमालयन शेर्पा क्बल थ्री स्टार क्लबसँग ३-१ ले पराजित भयो। नवौँ खेलमा हिमालयन शेर्पा सरस्वतीसँग ४-३ ले पराजित भएको थियो।
.jpg)
एपिएफ क्लब
लिगको पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग २-० ले हारेको एपिएफले दोस्रो खेलमा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा थ्री स्टार क्लबसँग १-० ले हारेको एपिएफले चौथो खेलमा सरस्वती युथ क्लबलाई २-१ ले हराएको थियो।
लिगको पाँचौँ खेलमा संकटा क्लबसँग ४-२ ले हारेको एपिएफले छैठौँ खेलमा च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो। सातौँ खेलमा एपिएफ एनआरटीसँग ३-२ ले हारेको थियो। आठौँ खेलमा एपिएफ जावलाखेलसँग १-० ले हारेको थियो। नवौँ खेलमा एपिएफ पुलिसँग १-० ले पराजित भएको थियो।
सरस्वती युथ क्लब
सरस्वतीको खेल राम्रो हुन सकेको छैन। पहिलो खेलमा एनआरटीसँग ४-० ले हारेको सरस्वती दोस्रो खेलमा जावलाखेलसँग १-० ले पराजित भयो। तेस्रो खेलमा पुलिस क्लबसँग २-० र चौथो खेलमा एपिएफसँग २-१ ले पराजित भयो।
लिगको पाँचौँ खेलमा आर्मीसँग १-० ले हारेको सरस्वतीले छैठौँ खेलमा बल्ल एक अंक जोड्न सक्यो। जसमा बिग्रेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेलेको सरस्वती सातौँ खेलमा फ्रेन्ड्स क्लबसँग ४-१ ले पराजित भयो। सरस्वती आठौँ खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो। नवौँ खेलमा पुगेर पहिलो जित पाएको सरस्वतीले हिमालयन शेर्पालाई ४-३ ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।