काठमाडौं- न्युजिल्यान्डसँगको टी–२० क्रिकेट सिरिजको चौथो खेलमा भारतले जित हात पारेको छ।
शुक्रबार घरेलु टोली न्युजिल्यान्डलाई भारतले सुपर ओभरमा पराजित गरेको हो। १६६ रनको रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६५ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।
कोलिन मुनरोले ६४ र टिम सेफर्टले ५७ रन बनाउँदा न्युजिल्यान्ड जित नजिक पुगेको थियो। न्युजिल्यान्डका लागि अन्तिम ओभरमा ७ रन चाहिँएको थियो। यो बेला न्युजिल्यान्डको १५९ रन हुँदा मात्र ३ विकेट गुमेको थियो। लगभग जित सुनिश्चित थियो। अन्तिम ओभरमा बलिङ गर्न आए भारतका सार्दुल ठाकुर। अन्तिम ओभरमा न्युजिल्यान्डले खराब प्रदर्शन गर्दै ४ विकेट गुमाउँदा भारतसँग स्कोर बराबरी बनाउन पुग्यो। सार्दुलले अन्तिम ओभरमा २ विकेट लिनको साथै २ विकेट रनआउट गरे।
टस हारेर पहिले ब्याटिङ थालेको भारतले यसअघि २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनाएको थियो। भारतका लागि मनिष पाण्डेले ५० रन बनाउँदा केएल राहुलले ३९ रन जोडे। बलिङतर्फ इस सोधीले ३ विकेट लिएका थिए।
योसँगै ५ खेलको सिरिजमा भारतले ४–० को अग्रता बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।