काठमाडौं- वेष्ट इन्डिजका स्टार क्रिकेटर क्रिस गेल एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा टिम पोखरा राइनोजमा अनुबन्धित भएका क्रिस गेलले आफ्नो टिमको समर्थनमा आउन आह्वानसमेत गरेका छन्।
पोखरा राइनोज टिममा ‘आइकनिक’ खेलाडीका रुपमा अनुबन्ध भएका गेलले ट्वीटरमार्फत भिडियो सार्वजनिक गर्दै आफ्नो टिम पोखरा राइनोजलाई समर्थन गर्न आउन आग्रह गरेका हुन्।
‘के छ नेपाल? हो म क्रिस गेल ‘युनिभर्स बोस’, किङ अफ ट्वान्टी ट्वान्टी नेपाल जाँदै छु। एभरेस्ट प्रिमियर लिग खेल्नका लागि। मेरो टिम पोखरा राइनोजलाई समर्थन गर्न आउनुहोला। नेपाल गेलको खेलका लागि तयार रहनु’ उनले भनेका छन्।
गेललाई कति रकममा अनुबन्ध गरिएको हो भन्ने नखुलाइए पनि उनको आगमनले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने विश्वास रहेको पोखरा राइनोजले जनाएको छ।
आउँदो चैत १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने इपिएल टी ट्वान्टी क्रिकेटका लागि गेल आउनाले युवा क्रिकेटरलाई थप मद्धत पुग्ने बताइएको छ। २०१६ मा वेस्ट इन्डिजबाट टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका गेल अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी ट्वान्टीमा पनि आक्रामक ब्याट्सम्यानका रुपमा चिनिन्छन्।
यसअघि ललितपुर प्याट्रियोट्सले श्रीलंकन खेलाडी उपुल थारङ्गा र भैरहवा ग्लाडियटर्सले ड्वायन स्मिथ जस्ता अन्तर्राष्ट्रिय ख्यातीप्राप्त खेलाडीसमेत ल्याइसकेको छ। यस्तै चितवन टाइगर्स टिमले अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद साहजादलाई अनुबन्ध गरेको छ।
इपिएलले आफ्नो आधिकारिक वेवसाइटमा हसिम अमला, लियाम प्लङकेट, सेकुगे प्रसन्ना, केसरिक विलियम्स जस्ता खेलाडी पनि खेल्ने जनाएको छ।
को को छन् पोखरा राइनोजमा?
बिनोद भण्डारी, सुनिल धमला, किशोर महतो, सुशन भारी, बिक्रम शोब, विपिन कार्की, नन्दन यादव, लोकेश बहादुर बम, देव शाह, ऋत गौतम, विपिन रावल, पृथु बास्कोटा र विवेक कुमार यादव।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।