काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै न्यू रोड टिम (एनआरटी) चौथो स्थानमा उक्लिएको छ। एनआरटीको ९ खेलमा १५ अंक भएको हो।
बिहीबार दशरथ रंगशालामा भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइजलाई २–० ले हराएको हो।
खेलको ३२औँ मिनेटमा दर्शन गुरुङको पासमा राजेश परियारले हानेको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो। खेलको ५२औँ मिनेटमा श्याम बाबुको पासमा राजेशले नै दोस्रो गोल गरेका थिए।
एनआरटीसँग हारेको बिग्रेड ब्वाइजको ९ खेलमा ८ अंक रहेको छ। ११औँ स्थानमा रहेको ब्रिगेड ब्वाइजभन्दा तल ७ अंक रहेको हिमालयन शेर्पा क्लब, ५ अंक रहेको एपिएफ र ४ अंक रहेको सरस्वती युथ क्लब रहेका छन्।
सबै टिमको ९ खेल सकिँदा २० अंकसहित त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा रहेको छ। मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबको समान १९ अंक रहेको छ। चौथोबाट पाचौँ स्थानमा झरेको नेपाल पुलिस क्लब र थ्री स्टारको समान १४ अंक छ।
बिहीबार नै भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई १–० ले हराएको थियो।
के भएको थियो यसअघिका खेल?
न्यू रोड टिम (एनआरटी)
जारी लिगमा एनआरटीले पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० को फराकिलो अन्तरले हराएको थियो। दोस्रो खेलमा संकटा क्लबसँग १–० ले हारेको एनआरटीले तेस्रो खेलमा च्यासल युथ क्लबलाई २–१ ले हरायो। चौथो खेलमा मछिन्द्रसँग १–० ले पराजित भयो।
.jpg)
लिगको पाँचौँ खेलमा जावलाखेलसँग गोलरहित बराबरी खेलेको एनआरटीले छैठौँ खेलमा पुलिस क्लबलाई १–० ले हराएको थियो। सातौँ खेलमा एपिएफलाई ३–२ ले हराएको एनआरटीले आठौँ खेलमा आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको थियो।
ब्रिगेड ब्वाइज क्लब
बिग्रेड ब्वाइज क्लब लिगको पहिलो खेलमा मछिन्द्र क्लबसँग २–० ले हारेको थियो। दोस्रो खेलमा फ्रेन्ड्ससँग २–० ले नै हारेको बिग्रेड ब्वाइज तेस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो। चौथो खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै बिग्रेड ब्वाइजले पहिलो जित निकालेको थियो।

लिगको पाँचौँ खेलमा थ्री स्टार क्लबसँग ३–१ ले हारेको बिग्रेड ब्वाइजले छैठौँ खेलमा सरस्वती क्लबसँग गोलरहित बराबरी खेलेको थियो। बिग्रेड ब्वाइजले सातौँ खेलमा संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो। आठौँ खेलमा बिग्रेड ब्वाइज क्लब च्यासलसँग १–० ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।