काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई हराएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स १–० ले विजयी भएको हो।
फ्रेन्ड्सका लागि खेलको ८४औँ मिनेटमा उत्तम राईले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै ९ खेलमा ११ अंक भएको फ्रेन्ड्स अंक तालिकामा नवौँ स्थानमा उक्लिएको छ। चौथो हार भोगेको च्यासल ९ खेलमा ९ अंकसहित दशौँ स्थानमा छ।
फ्रेन्ड्सविरुद्धको खेलमा ५८ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि च्यासलले गोल गर्न भने सकेन। च्यासले गरेको १२ प्रहारमा ७ प्रहार पोस्टको दिशामा थियो। यस्तै फ्रेन्ड्सले गरेको १६ प्रहारमा ९ प्रहार पोस्टको दिशामा थियो, जसमा एक गोल भयो।
यस्तो थियो यसअघिका खेल
फ्रेन्ड्स क्लब
लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब त्रिभुवन आर्मी क्लबसँग २–१ ले पराजित भएको थियो। फ्रेन्ड्स दोस्रो खेलमा बिग्रेड ब्वाइज क्लबसँग २–० ले पराजित भयो। तेस्रो खेलमा मछिन्द्रसँग ३–० ले हार्न पुग्यो। चौथो खेलमा पहिलो अंक जोडेको फ्रेन्ड्सले मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो।
लिगको पाँचौँ खेलमा हिमालयन शेर्पासँग पनि फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै एक अंक जोड्यो। छैठौँ खेलमा थ्री स्टार क्लबलाई १–० ले हराएर पहिलो जित निकालेको फ्रेन्ड्सले सातौँ खेलमा सरस्वती युथ क्लबलाई ४–१ ले हरायो। आठौँ खेलमा फ्रेन्ड्स संकटा क्लबसँग १–० पराजित भएको थियो।
च्यासल युथ क्लब
लिगको पहिलो खेलमा च्यासल युथ क्लबले संकटा क्लबलाई २–० ले हराउँदै विजयी सुरुवात गरेको थियो। दोस्रो खेलमा मछिन्द्रसँग १–१ गोलको बराबरी खेलेको च्यासल तेस्रो खेलमा एनआरटीसँग २–१ ले हारेको थियो। च्यासल चौथो खेलमा जावलाखेलसँग २–० ले पराजित भयो।
लिगको पाँचौँ खेलमा पुलिस क्लबसँग २–२ गोलको बराबरी खेलेको च्यासलले छैठौँ खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो। सातौँ खेलमा भने च्यासल आर्मी क्लबसँग ३–० ले पराजित भयो। आठौँ खेलमा च्यासलले बिग्रेड ब्वाइज क्लबलाई १–० ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।