काठमाडौं- इंग्लिस क्लब टोटनह्यामले नेदरल्याण्ड्सका फरवार्ड स्टेभेन वर्गवाइनलाई भित्र्याएको छ। २२ वर्षका स्टेभेनलाई टोटनह्यामले २०२५ सम्मका लागि नेदरल्याण्ड्सकै क्लब पिएसभीबाट लगेको हो।
यो सिजन पिएसभीका लागि १६ खेल खेलेका उनले ५ गोल गरेका थिए। प्रिमियर लिगमा जारी सिजन कमजोर देखिएको टोटनह्याममा स्टेभेनको आगमनले खेल फेरिने विश्वास क्लबमा छ। ह्यारी केन फिट नहुनेले पनि प्रशिक्षक जोस मोउरिन्हो नयाँ खेलाडीको खोजीमा थिए।
२०१४ मा पिएसभीकै युवा टिममा आबद्ध भएका स्टेभेनले त्यही समयदेखि सिनियर टिममा समेत खेल्न पाएका थिए। पिएसभीका लागि सबै गरेर १ सय ४९ खेल खेलेका स्टेभेनले ३१ गोल गरेका छन्।
उनले नेदरल्याण्ड्सको राष्ट्रिय टिमबाट समेत ९ खेल खेलेका छन्। उनले नेदरल्याण्ड्सका लागि उमेर समूहमा यु१७ देखि यु२१ सम्मका खेलहरु पनि खेलेका छन्।
जारी सिजन २४ खेलमा ३४ अंक रहेको टोटनह्याम प्रिमियर लिग अंक तालिकामा छैठौँ स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।