काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबलाई हराएको छ। मनाङको जितसँगै लिग उपाधिमा प्रतिस्पर्धा अझ रोचक बनेको छ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोको कृत्रिम मैदानमा भएको खेलमा मनाङले संकटालाई ३–० ले हराएको हो। शीर्ष स्थानको त्रिभुवन आर्मीभन्दा एक अंक कम भएको मनाङको ९ खेलमा १९ अंक भएको छ। दोस्रो स्थानमा रहेको मछिन्द्रको पनि ९ खेलमा १९ अंक नै रहेको छ। दुवै टिमको गोल भिन्नता पनि बराबर छ।
मनाङविरुद्ध खेलको ४२औँ मिनेटमा संकटाका अमित तामाङ आत्मघाती गोल गर्न पुगेका थिए। त्यसको अर्को मिनेटमा नै अन्जन विष्टले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए। खेलको ७१ औँ मिनेटमा मनाङका लागि तेस्रो गोल निशान लिम्बुले गरे।
९ खेलमा १२ अंक रहेको संकटा क्लब आठौँ स्थानमा रहेको छ। लिगमा सरस्वती क्लब रेलिगेसन नजिक देखिन्छ। सरस्वतीको ९ खेलमा ४ अंक छ। यस्तै अन्तिमबाट दोस्रोमा रहेको एपिएफको ९ खेलमा ५ अंक रहेको छ।
यस्तो थियो यसअघिका खेल
मनाङ मर्स्याङ्दी क्लब
जारी लिगमा अपराजित टिम मनाङ मर्स्याङ्दी क्लब मात्रै हो। मनाङले लिगको पहिलो खेलमा एपिएफलाई २–० ले हराएको थियो। दोस्रो खेलमा आर्मीलाई १–० ले हराएको मनाङले तेस्रो खेलमा बिग्रेड ब्वाइज क्लबलाई पनि १–० ले नै हरायो। मनाङले त्यसपछि लगातार चार खेल बराबरी खेल्यो।
चौथो खेलमा फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेलेको मनाङले लिगको पाँचौँ खेलमा मछिन्द्रसँग पनि २–२ गोलको बराबरी नै खेल्यो। छैठौँ खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो। सातौँ खेलमा थ्री स्टार क्लबसँग २–२ गोलको बराबरी खेल्यो। आठौँ खेलमा सरस्वती क्लबलाई १–० ले हराएको थियो।
संकटा क्लब
लिगको पहिलो खेलमा संकटा क्लब च्यासल युथ क्लबसँग २–० ले पराजित भएको थियो। दोस्रो खेलमा एनआरटीलाई १–० ले हराएको संकटा तेस्रो खेलमा जावलाखेलसँग १–१ गोलको बराबरीमा रोकियो। चौथो खेलमा संकटा नेपाल पुलिस क्लबसँग २–१ ले हारेको थियो।
लिगको पाँचौँ खेलमा संकटा क्लबले एपिएफलाई ४–२ ले हराएको थियो। छैठौँ खेलमा संकटाले आर्मी क्बलसँग १–१ गोलको बराबरी खेल्यो भने सातौँ खेलमा बिग्रेड ब्वाइज क्लबसँग गोलरहित बराबरी भएको थियो। आठौँ खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १–० ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।