सिड्नी– क्रिकेट बल टेम्परिङ काण्डमा दोषि ठहर हुँदै प्रतिबन्धमा परेका अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले प्रतिबन्ध विरुद्ध अपिल नगर्ने भएका छन्।
अनुसन्धानका लागि क्रिकेट अस्ट्रेलियालाई पूर्ण सहयोग गर्ने बताउँदै अपिल नगर्ने स्मिथले बुधबार जनाएका छन्। कप्तानको रुपमा सवै जिम्मेवारी लिने बताएका स्मिथले प्रतिबन्धबारे अपिल नगर्ने स्पष्ट पारेका हुन्।
योसँगै अब स्मिथ अप्रिल २०१९ सम्म क्रिकेटबाट टाढा रहनेछन्।उनीमाथि लागेको प्रतिबन्ध सकिएको २ महिनापछि इंग्ल्यान्ड र वेल्समा एकदिवसीय विश्वकप हुनेछ। यता टेम्परिङ काण्डमा परेका डेभिड वार्नर र क्यामरन बेनक्रफ्टले अपिलको विषयमा केहि बोलेका छैनन्।
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टका दौरान ओपनिङ ब्याट्सम्यान क्यामरन बेनक्रफ्टले बल टेम्परिङ गरेका थिए। बलिङमा ‘स्विङ’ ल्याएर ब्याट्सम्यानलाई आउट गर्ने उद्देश्यका साथ पूर्वनियोजित रुपमा टेम्परिङ भएको खुलेपछि उनीहरुमाथि कारबाही गरिएको थियो।
स्मिथलाई र वार्नरलाई १–१ वर्ष तथा बेनक्रफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाइएको थियो। साथै स्मिथलाई २ वर्ष र वार्नरलाई आजिवन कप्तान बन्न पनि रोक लगाइएको थियो। अस्ट्रेलियन क्रिकेटले अनुसन्धानपछि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।