काठमाडौं- इंग्लिस प्रिमियर लिग टिम म्यानचेस्टर सिटीमा पछिल्लो समय देखिएको ‘फुटबल शास्त्र’ हो- रहेक खेललाई उत्तिकै महत्व दिने शैली।
सबै खेल जित्ने चाहना त हरेक क्लबमा हुन्छ नै तर म्यानचेस्टर सिटी त्यसका लागि देखिने गरेर नै मेहनत गर्छ। चाहे प्रिमियर लिग होस्, या च्याम्पियन्स लिग, एफए कप या त लिग कप नै किन नहोस्।
पछिल्लो केही वर्षमा म्यानचेस्टर सिटीले घरेलु लिगमा पनि राम्रो खेल देखाइरहेको छ। जोसँग खेलेको भए पनि उनीहरु आफ्नो शैली र पहिलो रोजाइँका खेलाडी परिवर्तन गर्दैनन्। उस्तै महत्व दिन्छन्।
एफए कपको चौथो चरणमा गएको आइतबार म्यानचेस्टर सिटीले छैठौँ मिनेटमा नै १० जनामा सीमित भएको फुलह्यामविरुद्ध उसैगरी खेल्यो। ४-० ले जितेको खेलमा ग्याब्रियल जिससले दुई साथै गुन्डोगन र बर्नान्डो सिल्भाले एक-एक गोल गरे। एफए कपको खेललाई म्यानचेस्टर सिटीले प्रिमियर लिगमा जस्तै महत्व दिएकाले नै दर्शकको रोमाञ्चकता हेर्नलायक थियो।
म्यानचेस्टर सिटीमा देखिएको अर्को राम्रो पक्ष उनीहरु अन्तिम समयसम्म हार मान्दैनन्। यसैले त अहिले लिभरपुलले प्रिमियर लिगमा एक खेल कम खेल्दा नै १६ अंकको अग्रता बनाउँदा पनि सिटीको खेल हेर्न रमाइलो नै छ। आफूहरु पछि परेर उनीहरु आफ्नो खेलको मापदण्ड खस्कन दिँदैनन्। उनीहरु प्रिमियर लिगमा पछि परे पनि अरु चार उपाधिको दौडमा रहेकाले पनि त्यो शैली प्रशंसायोग्य हो।
प्रिमियर लिगको उपाधि लिभरपुलले जित्ने पक्का देखिए पनि बाँकी रहेका उपाधिमा म्यानचेस्टर सिटीको दाबेदारी एउटै मात्र सफल भए पनि क्लबको यो सिजनको सफलता देखिने नै छ।
प्रिमियर लिगमा नै २०१७-१८ को सिजन म्यानचेस्टर सिटीले प्रिमियर लिगमा एक सय अंकसहित उपाधि जित्दा दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडसँग १९ अंकको फरक पारेको थियो। त्यसबेला अरु कुनै टिमले सिटीलाई अप्ठ्यारो पारेको पनि देखिएन।
यसपटक लिभरपुल त्यही बाटोमा छ। गएको सिजन भने एक अंकले मात्रै सिटीले प्रिमियर लिग जित्दा लिभरपुल प्रतिस्पर्धामा सँगसँगै थियो। यसपटक म्यानचेस्टर सिटीको आलोचना भन्दा पनि लिभरपुलको तारिफ नै राम्रो देखिन्छ। किनभने योर्गेन क्लोपले जसरी टिम बढाइरहेको छन्, त्यो उत्कृष्ट हो।
यसपटक सिटीले कुनै ‘डोमेस्टिक कप’मा उपाधि जित्ने विश्वास गर्न सकिए पनि च्याम्पियन्स लिगमा धेरै आश गर्न सकिने स्थिति भने छैन। युरोपियन फुटबलमा अरु क्लब सिटी भन्दा बलियो देखिइरहेका छन् त्यसमा विशेष त लिभरपुल नै छ।
तर म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग जित्ने सम्भावना नै नरहेको पनि होइन। त्यसो त च्याम्पियन्स लिगमा रहेका सबै टिम राम्रा हुँदै हुन्। यसपटक प्रिमियर लिगमा पछि पर्नुले पनि म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा के गर्न चाहन्छ त्यसमा समय पनि छ।
म्यानचेस्टरमा कुनै खेलको प्रदर्शन खस्किनु उनीहरुको तयारीसँग जोड्न मिल्दैन। किनभने पेप गार्डिओला तयारीमा कुनै कसर छाड्ने प्रशिक्षक होइनन्। कुनै खेल बिग्रनु विपक्षी टिमको बलियो रणनीति या खेलकै दौरान बिग्रिएका केही विषय हुन सक्छन्। उनीहरुसँग अपेक्षा गरिएको खेल सधैँ हुन्छ भन्ने पनि कठीन विषय नै हो।
अब अर्को महिना च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडसँग प्रतिस्पर्धा गर्न म्यानचेस्टर सिटी तयार हुने नै छ। किनभने जब प्रशिक्षकमा गार्डिओला हुन्छन् तब जुनसुकै टिमसँग पनि भिड्ने तयारी त भइ नै हाल्छ।
गार्डिओलाका लागि फाइदाको पक्ष के भने लामो समयदेखि घाइते रहेका उनका ‘सेन्टर हाल्फ’ खेलाडी एमेरिक लापोर्ते टिममा फर्किएका छन्। साथै रक्षात्मक देब्रे क्षेत्रमा अलेक्जेन्डर जिनचेन्को पनि उपलब्ध छँदै छन्।
लापोर्ते नहुँदा गार्डिओलाले फर्नान्डिनोबाट काम गराइरहेका थिए। अब छनोटमा राम्रो अवसर रहनु टिमको लागि फाइदाको कुरा पनि हो। गार्डिओलाले विपक्षी हेरेर आफ्नो टिमलाई बढाउन त्यसले सहयोग पनि गर्नेछ। टिममा जो भए पनि सिटीको शैलीमा धेरै परिवर्तन देखिँदैन नै।
मुख्य त सबै खेलाडी फिट रहुन् भन्नेमा गार्डिओलाको विशेष ध्यान जानुपर्ने देखिन्छ। अब च्याम्पियन्स लिगमा रियल मड्रिडसँग उसैको मैदानमा भेट्नुअघि म्यानचेस्टर सिटीले काराबाओ कप दोस्रो लेगमा म्यानचेस्टर युनाइटेड साथै प्रिमियर लिगमा टोटनह्याम, वेस्टहाम र लिसेस्टरविरुद्ध खेल्नुपर्ने छ।
काराबाओ कप दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेल बुधबार राति साढे १ बजे हुँदैछ। पहिलो लेग ३-१ ले जितेको सिटीले दोस्रो लेग आफ्नै मैदानमा खेल्दैछ। जसका लागि प्रशिक्षक गार्डिओलाले समर्थकहरुलाई आग्रह गरेका छन्- ‘रंगशाला पूरै भरिने गरी तपाइँहरुको समर्थन आवश्यक छ।’
किनभने गएको आइतबार एफए कपमा फुलह्यामविरुद्ध खेल्दा ५५ हजार क्षमताको रंगशालामा ३९ हजार दर्शक मात्र आएका थिए। यसैले काराबाओ कपमा म्यानचेस्टर युनाइटेडविरुद्ध कम्तिमा ५१ हजार दर्शक आउने आश सिटीमा छ।
‘म म्यानचेस्टर सिटीमा आएको पहिलो दिनदेखि नै राम्रो खेल्ने र चुनौती दिनेबाहेक अरु केही सोचेको छैन। दर्शकलाई नराम्रो भन्न खोजेको होइन तर मेरो अर्को सोच रंगशालामा समर्थक सधैँ भरिउन् भन्ने नै हुन्छ। जसले खेलाडीलाई अझ राम्रो गर्न उर्जा मिल्नेछ’ प्रशिक्षक गार्डिओलाले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।