काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको छ। आर्मीले जावलाखेललाई १–० ले हराएको हो।
जितसँगै ९ खेलमा २० अंक भएको आर्मीले मछिन्द्र क्लबलाई उछिन्दै शीर्ष स्थानमा फर्किएको हो। दोस्रोमा झरेको मछिन्द्रको ९ खेलमा १९ अंक रहेको छ। सातौँ स्थानमा रहेको जावलाखेलको ९ खेलमा १२ अंक छ।
मंगलबार एन्फा कम्प्लेक्सको कृत्रिम मैदान सातदोबाटोमा भएको खेलमा ७५औँ मिनेटमा आर्मीका कप्तान भरत खवासले उत्कृष्ट गोल गरेका थिए। राइट विङको अप्ठ्यारो बलमा भरतले हावामा रहेको बललाई राम्रो सटमार्फत जाली चुमाएका थिए।
तनावमा सकिएको पहिलो हाफपछि दोस्रो हाफमा दुवै टिमले केही अवसर खेर फाले। पहिलो हाफको अन्तिममा जावलाखेलका खेलाडी ड्याडी जुनियर वाम्बाले रेफ्रिसँग विवाद गरेका थिए। त्यसमा आर्मी र जावलाखेलका अरु खेलाडी पनि मिसिए।
जावलाखेलको पोस्टनजिक भरतले वाम्बालाई लडाएपछि विवाद सुरु भएको थियो। त्यसमा फोउल दिएर रेफ्रिले फ्रि किकको इशारा गरे पनि वाम्बाले बल समातेर पुनः रेफ्रिलाई प्रश्न गरेका थिए। आफूलाई शारीरिक बनोटका आधारमा ‘नराम्रो’ शब्दले जिस्काएको उनको भनाइ थियो।
शीर्ष स्थानमा पुग्ने संघर्षमा रहेको आर्मीका लागि कप्तान भरत खवासले गरेको गोलबाहेक पनि केही राम्रा अवसरहरु बनेका थिए। तर गोलमा परिणत हुन सकेन। जावलाखेलले पोस्टमा बढाएको बललाई पनि जालि चुमाउन सकेन। खेलमा म्यान अफ दि म्याच आर्मीका विकास खवास बने।
खेलमा ५९ प्रतिशत समय बलमा नियन्त्रण बनाएको आर्मीले गरेको ११ प्रहारमा ५ प्रहार पोस्टको दिशामा थियो। यस्तै १५ सट प्रहार गरेको जावलाखेलले ६ सट पोस्टको दिशामा हानेको थियो।
मंगलबार नै पुछारमा रहेको सरस्वती क्लबले हिमालयन शेर्पा क्लबलाई ४–३ ले हराएको थियो।
यस्तो थियो यसअघिका खेल
त्रिभुवन आर्मी क्लब
लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ ले हराएको आर्मी क्लबले दोस्रो खेलमा हार्न पुग्यो। मनाङ मर्स्याङ्दीसँग १–० ले हारेपछि तेस्रो खेलमा आर्मीले हिमालयन शेर्पा क्बललाई २–० ले हरायो।
लिगको चौथो खेलमा थ्री स्टारलाई पनि २–० ले नै हराएको आर्मीले पाँचौँ खेलमा सरस्वती युथ क्लबलाई १–० ले हरायो। छैठौँ खेलमा संकटासँग १–१ को बराबरी खेलेको आर्मीले सातौँ खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो। आठौँ खेलमा आर्मी एनआरटीसँग गोलरहित बराबरीमा रोकिएको थियो।
जावलाखेल युथ क्लब
लिगको पहिलो खेलमा जावलाखेलले थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराएको जावलाखेलले तेस्रो खेलमा संकटासँग १–१ गोलको बराबरी खेलेको थियो।
लिगको चौथो खेलमा च्यासललाई २–० ले हराएको जावलाखेलले पाँचौँ खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो। छैठौँ खेलमा पहिलो हार भोगेको जावलाखेल मछिन्द्रसँग १–० ले हारेको थियो। त्यसपछि सातौँ खेलमा जावलाखेल पुलिस क्लबसँग २–० ले हार्न पुग्यो। आठौँ खेलमा जावलाखेलले एपिएफलाई १–० ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।