काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा रुपन्देही च्यालेञ्जर्स लगातार तेस्रो खेलमा पराजित भएको छ। रुपेन्देहहीलाई बुधबार भएको खेलमा विराटनगर किंग्सले ४२ रनले पराजित गरेको हो। पहिलो खेलमा पराजित भएको विराटनगरको भने यो पहिलो जित हो।
विराटनगरले दिएको १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको रुपन्देहीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र जोड्न सक्यो।
सुरुवातमै ओपनिङ ब्याट्सम्यान सागर पुन ५ रनमा आउट हुँदा कुशल मल्ल पनि ६ रनको झिनो स्कोरमा पेभिलियन फर्के। तर ओपनिङ ब्याट्सम्यान प्रदीप ऐरीले आक्रामक ब्याटिङ गरे। उनले ५० बल खेलेर ५४ रन जोड्ने क्रममा ६ चौका र २ छक्का हिर्काए। उनी आउट भएपछि रुपेन्देहीको विकेट लगातार पतन भएको थियो।
दीपक प्रसादले १७ बल खेलेर २२ रनको योगदान दिए। पारस खड्काको एलबिडब्लुको धरापमा पर्नुअघि उनले २ चौका र १ छक्का हिर्काए। अमरसिंह रटौला ४ र विक्रम कुमार भुषाल ३ रनमा आउट भए। कप्तान शक्ति गौचनले नटआउट १४ र सुसन भारीले नटआउट २१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङतर्फ विराटनगरका शुभम् कामतले ३ विकेट लिए। रामनरेश गिरीले २ विकेट हात पार्दा कप्तान पारसले १ विकेट लिन सफल भए।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन जोड्यो। विराटनगरका लागि ओपनर दिलीप नाथले ४३ रन जोडे भने उनका ओपनिङ पार्टनर अनिलकुमार साहले ३६ रनको योगदान दिए। पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका अनिलले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। नाथले ३७ बलमा ६ चौका र १ छक्का हिर्काए।

विराटनगरका लागि बाबर हायतले विस्फोटक ब्याटिङ गरे। उनले ३५ बलमा ५८ रन जोडे। बाबरले समान ४–४ चौका र छक्का हिर्काए। बाबर हङकङ राष्ट्रिय क्रिकेट टिमका कप्तान हुन्। यसअघि उनले एभरेस्ट प्रिमियर लिग पनि विराटनगरबाट खेलेका थिए। सौरभ खनालले ११ बलमा नटआउट १७ र कप्तान पारस खड्काले १२ बलमा नटआउट २० रन जोडे।


बलिङतर्फ रुपन्देहीका सुफायन मोहम्मदले २ विकेट लिए। सागर पुन र जितेन्द्र मुखियाले समान १–१ विकेट हात पारे।

तस्बिर सौजन्य : क्रिकेटिङ नेपाल डटकम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।