काठमाडौं– कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको चीनको हुबे प्रान्तस्थित वुहान र अन्य क्षेत्रमा रहेका नेपालीको सहायताका लागि चीनस्थित नेपाली दूतावासले विशेष सेल स्थापना गरेको छ।
दूतावासले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चीनमा रहेका सबै नेपालीलाई सावधानी अपनाउन सचेत गराएको थियो।
विशेष सेलले चीनका विभिन्न सहरमा रहेका नेपालीलाई आपतकालीन सेवा प्रदान गर्ने छ। दूतावासको हटलाइन नम्बर र विच्याटमार्फत् विशेष सेलमा जोडिन सकिने दूतावासले जनाएको छ।
विशेषगरि वुहान क्षेत्रमा रहेका नेपालीका लागि दूतावासले विच्याट समूह पनि निर्माण गरेको छ। त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र सेवाका लागि चीनको केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारसँग नियमित सम्पर्कमा रहेको दूतावासको भनाइ छ।
कति छन् नेपाली ?
महामारी प्रभावित वुहान क्षेत्रमा कति नेपाली छन् भन्ने एकिन तथ्यांक भने सरकारसँग छैन। परराष्ट्र मन्त्रालयले त्यस क्षेत्रमा एक सयजति नेपाली रहेको र तिनमा पनि अधिकांश विद्यार्थी रहेको बताएको छ। ‘त्यहाँ दुईथरि नेपाली हुनुहुँदो रहेछ,’ मन्त्रालयका प्रवक्ता भरतराज पौडेल भन्छन्, ‘धेरै जसो विद्यार्थी रहेछन् भने केही संख्यामा सेफ (कुक) रहेछन्। सबै गरेर त्यो क्षेत्रमा करिब एक सय नेपाली रहेछन्। ’
जाडो बिदा र चीनको ‘स्प्रिङ फेस्टिभल’का कारण तीमध्ये केही दुई/चार हप्ताअघि नै नेपाल फर्किएकाले त्यस क्षेत्रमा अहिले नेपालीको संख्या सयभन्दा कम रहेको पौडेल बताउँछन्। भाइरसको संक्रण फैलिनैबित्तिकै बेइजिङस्थित नेपाली दूतावास सक्रिय भएको र अहिले सबै नेपालीसँग सम्पर्कमा रहेको उनले बताए।
‘यो संक्रमण फैलिएपछि हाम्रो दूतावास तुरुन्तै सक्रिय भयो,’ पौडेलले भने, ‘दूतावास त्यहाँ भएका सबै नेपालीसँग सम्पर्कमा छ। नेपालीको सहायताका लागि विशेष सेल बनाएको छ।’
वुहान बाहेकका क्षेत्रमा कति नेपाली छन् भन्ने एकिन तथ्यांक छैन। यद्यपि कोरोना भाइरसको संक्रमण चीनका अधिकांश प्रान्तमा फैलिसकेको छ। चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ले बिहान १० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार हुबे प्रान्तमा १ हजार ४ सय २३ जना, गोङडोङमा १ सय ४६, हेनानमा १सय २८, झियाङमा १ सय २८ जनालाई भाइरस सक्रमण भइसकेको छ।
त्यस्तै सिचुवानमा ६९, हुनानमा १ सय, बेइजिङमा ६८, साङ्घाइमा ५३, फुजियामा ३५, सान्सीमा २२, सिन्जियानमा ५, हङकङमा ८, मकाउमा ६ र ताइवानमा ४ जनालाई भाइरसको संक्रमण भएको छ।
यी क्षेत्रमा भाइरस संक्रमण फैलिए धेरै नेपाली पनि प्रभावित हुने देखिएको छ। हङकङ, बेइजिङ, तिब्बत, मकाउ लगायतका प्रान्तमा धेरै नेपाली अध्ययन र रोजगारीका लागि जाने गरेका छन्।
अमेरिका र श्रीलंका आफ्ना नागरिक फर्काउँदै
अमेरिकाले भाइरस संक्रमित वुहानमा रहेको वाणिज्य दूतावास बन्द गरेको छ। त्यहाँ करिब हजार अमेरिकी रहेको बताइएको छ।
उक्त क्षेत्रबाट अमेरिकी नागरिक र कूटनीतिज्ञ फर्काउन चीनले अमेरिकालाई सहयोग गर्ने भएको छ। अमेरिकाले विमान चार्टर गरेर आफ्ना नागरिक फर्काउने तयारी गरिरहेको छ।
त्यस्तै श्रीलंकाले पनि वुहानमा रहेका आफ्ना विद्यार्थी फिर्ता गर्ने भएको छ। त्यहाँ करिब ३० जना श्रीलंकाली विद्यार्थी छन्।
चीनबाट संक्रमण सुरु भएको कोरोना भाइरसका बिरामी एशिया, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा पनि भेटिएका छन्। अहिलेसम्म थाईल्यान्डमा ८, अमेरिकामा ५, अस्ट्रेलियामा ५ जना संक्रमित भेटिएका छन्।
त्यस्तै सिंगापुर, ताइवान, मलेशिया, दक्षिण कोरियामा ४/४ भेटिएका छन् भने फ्रान्स र जापानमा ३/३ जना छन्। भियतनाम र नेपालमा २ जना छन् भने क्यानडामा १जना भेटिएका छन्।
के गरिरहेको छ चीन ?
कोरोना भाइरसको संक्रणबाट चीनमा अहिलेसम्म ८१ जनाको मृत्यु भइसकेको छ। हुबे प्रान्तले सोमबार थप २४ संक्रमितको घोषणा गरेको छ। चीनभर २ हजार ७ सय ४४ जनामा यो भाइरसको संक्रमण भइसकेको छ।
संक्रमण तीव्र रुपमा फैलिन थालेपछि चीनले संक्रमणको केन्द्रमा रहेको वुहानमा २ हजार शय्याका दुईवटा अस्पताल निर्माण गरिहेको छ। ती अस्पताल एक सातामै निर्माण भइसक्ने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।
पाँच लाख स्वाथ्यकर्मीलाई उक्त भाइरसको नियन्त्रण र उपचारका लागि परिचालित गरिएको छ। मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ।
राष्ट्रपति सी चिनफिङले भाइरस नियन्त्रणका लागि प्रभावकारी काम गर्न निर्देशन दिएका छन्। त्यस्तै चीनले भाइरस विरुद्धको खोप बनाउन अनुसन्धानसमेत सुरु गरेको छ।
वुहान क्षेत्रमा स्थानीय यातायात सञ्चालनमा रोक लगाएको छ भने सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। त्यस्तै बेइजिङ क्षेत्रमा स्कुल बन्द गरिएका छन् भने परीक्षा पनि रद्ध गरिएको छ।
उत्तरी नाकामा छैनन् क्वारेन्टाइन
नेपाल विभिन्न उत्तरी नाकाबाट चीनसँग जोडिएको छ। रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाकाबाट दुई देशबीच आवतजावत हुने गरेको छ।
ती क्षेत्रबाट प्रवेश गर्नेहरुबाट कोरोना भाइरसको संक्रण सर्ने खतरा भए पनि सबै नाकामा स्वास्थ्य क्वारेन्टाइन छैनन्। अहिले रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाकामा मात्रै सामान्य खालको स्वाथ्य क्वारेन्टाइन सेवा उपलब्ध छ।
भाइरसको संक्रमण फैलिएपछि रसुवागढी भन्सारमा चेकजाँच कडा पारिएको रुसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्का बताउँछन्। ‘भन्सारबाट बाहिरिने र भित्रिनेको रेकर्ड राख्ने गरेका छौं,’ खड्काले भने, ‘स्वाथ्य मन्त्रालयको एउटा टोलीबाट भित्रिने र बाहिरिनेहरुको सामान्य स्वाथ्य चेकजाँच हुन्छ। कोरोना भाइरस संक्रणको शंका लागेमा परीक्षणका लागि काठमाडौं पठाउँछौं।’
सरकारले सोमबारमात्रै त्रिभुवन विमानस्थल क्षेत्रमा भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन १२ बुँदे निर्देशन दिएको छ। प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
उक्त निर्देशनमा अन्तर्राष्ट्रिय हवाई प्रवेश विन्दुको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स स्थापना गर्ने, डेक्सका लागि आवश्यक स्थान उपलब्ध गराउने र समन्वय एवम् सहजीकरण गर्नेलगायतका विषय समेटिएका छन्।
सरकारले यसैवर्ष ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेकाले चीनबाट धेरै पर्यटक आउने र भाइरसको संक्रमण फैलिने दर झन् तीव्र हुने धेरैको चिन्ता छ।
चीनमा सरकार सक्रिय भएको छ : भरतराज पौडेल, प्रवक्ता, परराष्ट्र मन्त्रालय
यो भाइरसको संक्रमण अहिले चीनको वुहान भन्ने सहरमा भइरहेको छ। त्यहाँ विभिन्न मुलुकमा मान्छे छन्। हाम्रा मुलुकका पनि केही छन्। हाम्रो संख्या निकै सानो छ।
त्यहाँ दुईथरि नेपाली रहेछन्। तीमध्ये धेरैजसो विद्यार्थी रहेछन् र केही संख्यामा सेफ (कुक) छन्। जाडो बिदा र चीनको ‘स्प्रिङ फेस्टिभल’का कारण केही दुई/चार हप्ताअघि नै नेपाल फर्किएका छन्। संक्रमणका कारण उनीहरु फर्किएका छैनन्। वुहान क्षेत्रमा करिब सय नेपाली छन्।
यो संक्रमण फैलिएपछि हाम्रो दूतावास तुरुन्तै सक्रिय भएको छ। दूतावास त्यहाँ भएका सबै नेपालीसँग सम्पर्कमा छ। नेपालीको सहायताका लागि विशेष सेल बनाएको छ। नेपालीसँग कुरा गर्नलाई एउटा विच्याट समूह बनाएको छ। दूतावासका अलावा चीनका विभिन्न महावाणिज्य दूतावास पनि यसमा सक्रिय भएका छन्।
०००
दूतावासको भनाइ अनुसार त्यहाँ रहेका विद्यार्थी लाई खान, बस्न, उपचार गर्न सबै सुविधा छ। त्यहाँ अहिलेसम्म त्यस्तो कुनै समस्या छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।