काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबलाई हराउँदै मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको छ।
लिगको नवौँ चरणको खेल अन्तर्गत सोमबार दिउँसो दशरथ रंगशालामा मछिन्द्रले ३८औँ मिनेटमा नै अग्रता लिएको थियो। मछिन्द्रका लागि रेजिन सुब्बाले गोल गरेका थिए। खेलको अन्तिम मिनेटमा बिशाल राईले गोल गर्दै टिमलाई २–० को जित दिलाए।
थ्री स्टार ६० प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि गोल बनाउन भने सकेन। जम्मा ९ प्रहारमा पोस्टको दिशामा गएको ५ प्रहार थ्री स्टारको पक्षमा हुन सकेन। मछिन्द्रले गरेको १४ प्रहारमा ९ प्रहार पोस्टको दिशामा थियो, जसमा २ गोल भयो।
जितसँगै ९ खेलमा १९ अंक भएको मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ। चौथो स्थानमा रहेको थ्री स्टारको ९ खेलमा १४ अंक छ।
यस्तै सोमबार नै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले हरायो। पुलिसका लागि खेलको १३औँ मिनेटमा नै भोला सिलवालले गोल गरेका थिए।
जितसँगै ९ खेलमा १४ अंक भएको पुलिस क्लब पाँचौँ स्थानमा छ। ९ खेलमा ५ अंक भएको एपिएफ पुछारबाट दोस्रोमा छ।
के भएको थियो यसअघिका खेल?
मछिन्द्र क्लब
मछिन्द्र क्बलले लिगको पहिलो खेलमा बिग्रेड ब्वाइज क्लबलाई २–० ले हराएको थियो। दोस्रो खेलमा च्यासल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३–० ले हराएको मछिन्द्रले चौथो खेलमा एनआरटीलाई १–० ले हरायो।
लिगको पाँचौँ खेलमा मनाङ मर्स्याङ्दीसँग २–२ गोलको बराबरी खेलेको मछिन्द्रले छैठौँ खेलमा जावलाखेललाई १–० ले हराएको थियो। सातौँ चरणमा पुगेर पहिलो हार भोगेको मछिन्द्र हिमालयन शेर्पासँग २–० ले हारेको थियो। आठौँ खेलमा मछिन्द्रले पुलिस क्लबलाई १–० ले हराएको थियो।
थ्री स्टार क्लब
लिगको पहिलो खेल जावलाखेल युथ क्लबसँग बराबरी खेलेको थ्री स्टारले दोस्रो खेलमा पुलिस क्लबलाई १–० ले हराएको थियो। तेस्रो खेलमा एपिएफलाई १–० ले नै हराएको थ्री स्टार चौथो खेलमा आर्मीसँग २–० ले पराजित भएको थियो।
लिगको पाँचौँ खेलमा बिग्रेड ब्वाइज क्लबलाई ३–१ ले हराएको थ्री स्टार छैठौँ खेलमा फ्रेन्ड्ससँग १–० ले पराजित भएको थियो। सातौँ चरणको खेलमा थ्री स्टारले मनाङ मर्स्याङ्दीसँग २–२ गोलको बराबरी खेलेको थियो। आठौँ खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ ले हरायो।
नेपाल पुलिस क्लब
लिगको पहिलो खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो। दोस्रो खेलमा थ्री स्टारसँग १–० ले पराजित पुलिसले तेस्रो खेलमा सरस्वती युथ क्लबलाई २–० ले हरायो। चौथो खेलमा संकटालाई २–१ ले हरायो।
पुलिस क्लबले लिगको पाँचौँ खेलमा च्यासल युथ क्लबसँग २–२ गोलको बराबरी खेल्यो। छैठौँ खेलमा एनआरटीलाई १–० ले हराएको पुलिसले सातौँ खेलमा जावलाखेललाई २–० ले हराउन सक्यो। आठाँै खेलमा पुलिस क्लब मछिन्द्रसँग १–० ले पराजित हुन पुग्यो।
एपिएफ क्लब
लिगको पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग २–० ले हारेको एपिएफले दोस्रो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा थ्री स्टार क्लबसँग १–० ले हारेको एपिएफले चौथो खेलमा सरस्वती युथ क्लबलाई २–१ ले हराएको थियो।
लिगको पाँचौँ खेलमा संकटा क्लबसँग ४–२ ले हारेको एपिएफले छैठौँ खेलमा च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो। सातौँ खेलमा एपिएफ एनआरटीसँग ३–२ ले हारेको थियो। आठौँ खेलमा एपिएफ जावलाखेलसँग १–० ले हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।