काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेटमा श्रीलंकन क्रिकेटर उपुल थारङ्गाले खेल्ने भएका छन्। उनलाई डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियोट्सले टिममा अनुबन्ध गरेको हो।
देब्रे हाते ओपनिङ ब्याट्सम्यान थारङ्गा सम्हालिएर ब्याटिङ गर्ने ओपनरका रुपमा चिनिन्छन्। विकेट किपिङसमेत गर्ने थारङ्गाले श्रीलंकन राष्ट्रिय क्रिकेट टिमको कप्तानीसमेत गरिसकेका छन्।
सबैभन्दा छिटो चार हजार रन बनाउने श्रीलंकन खेलाडी थारङ्गा विशेष त एकदिवसीय क्रिकेटमा अब्बल मानिने गरिएको भए पनि उनको टी ट्वान्टी र क्लासिङ ब्याटिङ अनुभव राम्रो रहेको छ।
‘ललितपुर प्याट्रियोट्समार्फत नयाँ सिजनको इपिएलमा समावेश हुन पाउँदा सम्मानित महसुस गरेको छु। नेपालमा बढ्दै गएको क्रिकेटको माहोलसँगै नेपालको सुन्दर दृश्य हेर्न आतुर छु। युवा क्रिकेटरलाई आफ्नो अनुभव बाँड्न पाउँदा मलाई खुसी लाग्नेछ’ थारङ्गाले भनेका छन्।
टिम ललितपुर प्याट्रियोट्सका मालिक किशोर महर्जनले पनि थारङ्गा आउनुले नेपाली क्रिकेटमा नै राम्रो योगदान हुने बताएका छन्। ‘नयाँ खेलाडीहरुले उनीसँग धेरै कुरा सिक्न पाउनेछन् भन्ने लाग्छ’ उनले भनेका छन्।
इपिएल क्रिकेट आउँदो चैत १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुँदैछ। यसअघि वेस्ट इन्डिजका ड्वायन स्मिथले भैरहवा ग्लाडियटर्सबाट खेल्ने पक्का भइसकेको छ।
इपिएलले आफ्नो आधिकारिक वेवसाइटमा हसिम अमला, मोहमद साहजाद, लियाम प्लङकेट, सेकुगे प्रसन्ना, केसरिक विलियम्स जस्ता खेलाडी पनि खेल्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।