काठमाडौं– गायिका आस्था राउतलाई बयान सकिएको अवस्थामा प्रहरी आजै छाड्ने तयारीमा छ। सोही तयारीअनुसार आस्था आफन्तसँगै महानगरिय प्रहरी परिसर टेकु पुगेकी थिइन्।
प्रहरीले पनि उनीविरुद्ध लगाएको अभद्र व्यवहार मुद्दाको छिनोफानो चाँडो सकाउन बिहानैदेखि प्रक्रिया थालेको थियो। हाल सरकारी वकिलको कार्यलय बयान दिने क्रममा रहेकी आस्थालाई प्रहरीले घटनाबारे सोधपुछ गरिसकेको छ। सोधपुछअघि उनलाई वीर अस्पताल स्वास्थ्य परिक्षणसमेत गराइएको थियो, जुन नियमित पक्रिया हो।
‘मुद्दा दर्ता भइसकेकाले प्रक्रिया पुरा गर्न सिडियो कार्यलय लगिएको हो, सरकारी वकिलसँग बयान सकिएको अवस्थामा उहाँले आजै छाड्ने तयारी छ,’ महानगरिय प्रहरी कार्यलय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले नेपाललाइभसँग भने।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा उनीविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो।
पक्राउ पुर्जी जारी भइसकेपछि प्रहरी कार्यलयमै मिलापत्र गर्ने अवस्था नरहेकाले कानुनी पक्रियाअनुसार नै आस्थाको मुद्दा टुंग्याउने प्रक्रियामा प्रहरी लागेको डिआइजी पोखरेलले भनाई छ। त्यसैले उनको बयानलाई पहिलो प्राथमिकतामा राख्दै जतिसक्दो चाँडो सरकारी वकिलको कार्यलय र जिल्ला प्रशासन कार्यलयमा उपस्थित गराउने प्रक्रिया सुरु गरिसकेको छ।
बयान आजै नसकिएको अवस्थामा आस्था एक रात हिरासतमा बस्नुपर्ने सम्भावना पनि देखिएको छ।
यो पनि पढ्नुस् :
प्रहरी नियन्त्रणमा रहेकी आस्थाले भनिन्- म कानुनसँग ‘कोअपरेट’ गर्न आएकी हुँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।