काठमाडौं– हाल प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानुनी कारवाही भोग्न आफू तयार रहेको बताएकी छिन्।
‘म कानुनसँग ‘कोअपरेट’ गर्न आएको हो,’ प्रहरीसँग बयान सकाएर सरकारी वकिल कार्यालय जाने क्रममा उनले पत्रकारहरुसँग भनिन्, ‘उहाँहरु(प्रहरी)ले एकदमै सौहार्दपुर्ण वातावरणमा आफ्ना कुराहरु राख्ने मौका दिइरहनुभएको छ। यहाँ कानुनभन्दा माथि म पनि छैन, कोही पनि छैन। त्यसैले कानुनी हिसाबले मलाई जे हुन्छ, म त्यो सहर्ष स्वीकार गर्छु। कानुनलाई कसैले नमिचौँ भन्न चाहन्छु।’
अभद्र व्यवहार मुद्दा खेपिरहेकी आस्थाविरुद्ध जिल्ला प्रशासन कार्यलयले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसैले आस्था आफै परिवारका सदस्यसँगै बिहान महानगरीय प्रहरी परिसर टेकु पुगेकी थिइन्। प्रहरीले उनलाई वीर अस्पतालमा स्वास्थ्य परीक्षण समेत गराएको थियो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो।
प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि आस्थाको परिवार उनलाई प्रहरी कार्यालयमा हाजिर गराउन सहमत भएको थियो। सोहि सहमतिअनुसार आस्था परिवारका सदस्यको साथ प्रहरी कार्यलय पुगेकी हुन्।
उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो। माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।