काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिजका ड्वायन स्मिथले भैरहवा ग्लाडियटर्सबाट खेल्ने पक्का भएसँगै आफू नेपाल कहिले पुगौँ भन्ने हतारोमा रहेको बताएका छन्।
इपिएल क्रिकेट आउँदो चैत १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुँदैछ। त्यसका लागि अलराउण्ड क्रिकेटर स्मिथले ट्वीट गर्दै नेपालमा खेल्ने कुराले रोमाञ्चित भएको बताएका हुन्।
उनले लेखेका छन्– ‘नेपालमा ठूलो क्रिकेट प्रतियोगितामा सामेल हुन पाउँदा रोमाञ्चित छु, मेरो टिम भैरहवा ग्लाडियटर्सको समर्थनसँगै विश्व क्रिकेट उत्सवमा सामेल हुन आग्रह गर्दछु। मैले नेपाल र त्यहाँको सुन्दर भूगोलको बारेमा धेरै सुनेको छु। कहिले पुगौँला भएको छ, मैदानमा भेटौँला है त।’
भैरहवाका टिम कप्तान शरद भेषावकरले पनि स्मिथ आउने कुराले आफू उत्साहित भएको बताएका छन्। इपिएलमा स्टार ब्याट्सम्यान स्मिथको अगामनले नयाँ खेलाडीहरुलाई क्रिकेट बुझ्न सहयोग गर्ने उनको भनाइ छ।
‘स्मिथ इपिएल क्रिकेटमा मेरो कप्तानीमा खेल्नेछन् भन्ने विषयले उत्साहित छु। स्मिथ आउने कुरा अहिले पनि पूरा विश्वास हुन सकेको छैन। टिमको टप अर्डरमा विश्वको एक उत्कृष्ट ब्याट्सम्यान हामीले पाएका छौँ। यसले नयाँ खेलाडीहरुलाई क्रिकेट बुझ्न अझ मद्धत गर्नेछ भन्ने लाग्छ’ भेषावकरले भनेका छन्।
३६ वर्षका स्मिथ टी ट्वान्टी क्रिकेटमा ‘हिटर’ ब्याट्सम्यानका रुपमा चिनिन्छन्। उनले ३२ अन्तर्राष्ट्रिय टी ट्वान्टी इनिङमा ५ सय ८२ रन साथै टी ट्वान्टीको ३ सय २७ इनिङमा ७ हजार ८ सय ७० रन बनाएका छन्। ब्याटिङसँगै उनको मिडियम पेस बलिङ पनि फलदायी हुन सक्छ।
स्मिथले यसअघि इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र डेकन चाजर्स साथै बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग र अस्ट्रेलियन घरेलु प्रतियोगिताहरुमा पनि खेलेका छन्।
भैरहवा ग्लाडियटर्सका टिम मालिक सकेत सांघाइले स्मिथको आगमनले आफ्नो टिमलाई मात्र नभएर नेपालको क्रिकेटमा नै केही फाइदा हुनसक्ने बताएका छन्। ‘टी ट्वान्टीमा उनको खेल राम्रो छ। उनीसँग सिक्न सक्ने कुरा धेरै छ। उनको नेपाल आगमनले टिमलाई मात्र नभएर नेपाली क्रिकेटलाई नै केही फाइदा हुनेछ’ उनले भनेका छन्।
इपिएलले आफ्नो आधिकारिक वेवसाइटमा हसिम अमला, मोहमद साहजाद, उपुल थारङ्गा, लियाम प्लङकेट, सेकुगे प्रसन्ना, केसरिक विलियम्स जस्ता खेलाडी पनि खेल्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।