काठमाडौं- शुक्रबार पूर्वी टर्कीमा गएको भूकम्पमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ। यसका साथै १ हजार जनाभन्दा बढी घाइतेको भएको समेत विभिन्न समाचार संस्थाहरूले जनाएका छन्।
स्थानीय समयअनुसार बेलुका ८ बजेर ५५ मिनेटमा पूर्वी टर्कीको इलेजिग प्रान्तस्थित सिभरिस सहर आसपास केन्द्रबिन्दु बनाएर ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट सहरका धेरै भवन ध्वस्त भएका छन् भने हजारौंले सडकमा आश्रय लिइरहेका छन्।
भूकम्पका कारण विभिन्न स्थानमा च्यापिएका ३९ जनालाई उद्धार गरिएको छ भने अझ पनि २० जनाभन्दा बढी त्यसरी च्यापिकएकालाई उद्धार गर्न बाँकी रहेको समाचार बिबिसीले सम्प्रेषण गरेको छ।
टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन प्राधिकरणका अनुसार ४ सय उद्धार टोली खटाइएको छ।
सो भूकम्पको कम्पन सिरिया लेबनान र इरानमा समेत महसुस गरिएको थियो।
यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले टर्कीमा भूकम्पका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन्।
'पूर्वी टर्कीमा गएको विनाशकारी भूकम्प गएको समाचारबाट हामी दुखी छौं। नेपाल सरकार मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ,' मन्त्री ज्ञवालीले ट्विटमा भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।