काठमाडौं- नेपाल विद्यार्थी संघमा ३२ वर्ष माथिबाट केन्द्रीय कार्यसमिति बनाउन नेताहरुबीच सहमति भएपछि त्यसविरुद्ध संघकै कार्यकर्ता आमरण अनशनमा बस्ने भएका छन्।
विधानअनुसार ३२ वर्ष उमेर हद कायम गर्न माग गर्दै रिले अनशन गरिरहेका विद्यार्थीको समूहबाट आमरण अनशन सुरु गर्ने बताइएको छ। पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीले शीर्ष नेताको निर्णयविरुद्ध आमरण अनशन बस्ने बताए।
त्रिपाठीको नेतृत्वमा केन्द्रीय कार्यालय सानेपमा ३८ दिनदेखि रिले अनशन जारी छ। रिले अनशनको मागको ठीकविपरीत शीर्ष तहका नेताले शुक्रबार सहमति गरेका हुन्। एक वर्षअघि विघटन गरिएको नैनसिंह महर नेतृत्वको स्थानमा ३२ वर्ष उमेर माथिबाट नयाँ कार्यसमिति ल्याउन लागिएको छ। पार्टी भित्रका समूहलाई चित्त बुझाउन भागबण्डामा पदाधिकारीसहित केन्द्रीय सदस्य बाँडिएको छ।
यसअघि संघमा ३२ वर्ष उमेर हद कायम हुनुपर्ने माग गर्दै आएका संस्थापनइतरका नेताहरुसमेत ३२ वर्ष माथिबाट तदर्थ समिति बनाउन सहमत भएका छन्। सार्वजनिक कार्यक्रममा महामन्त्री डा शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले ३२ वर्ष मुनिबाट तदर्थ समिति आउनुपर्ने माग गर्दै आएका थिए। शुक्रबारको बैठकमा सहभागी सिटौला र सिंह भागबण्डामा सहमति जनाई ३२ वर्ष उमेर हद कायम नगर्न राजी भएका छन्।
१२औं महाधिवेशनकै लागि यसअघि २१ जिल्ला अधिवेशनसमेत भइसकेको छ। ती जिल्लामा उमेर हदको विधान लागू गरिएको थियो।
‘रिले अनशनको मागलाई वेवास्ता गरिएकाले आमरण अनशन सुरु गर्न लागेका छौं।' पूर्वकेन्द्रीय सदस्य त्रिपाठीले भने, ‘अब त उमेर हदको मात्रै विषय रहेन। पदाधिकारीको संख्या बढाइएको छ। विधानले सात/सात महामन्त्री बनाउन मिल्दैन।’
आमरण अनशन एक्लै बस्न लागेको उनले बताए। सोमबारदेखि आमरण अनशन गर्ने उनले बताए। विधानविरुद्ध शीर्ष तहका नेताहरुले सहमति गरेको भन्दै संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले पनि आपत्ति जनाएका छन्। विधानको रक्षा गर्न पार्टी सम्वद्ध सबैलाई आग्रह गरेको उनले बताए। जारी रिले अनशालाई थप शसक्त बनाउने उनले नेपाल लाइभसँग बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।