काठमाडाैं- नेपाल कानुन व्यवसायी परिषद्ले यस वर्षदेखि सरकारी तथा सङ्घसंस्थामा पूरा समय काम गर्ने कर्मचारीलाई कानुन व्यवसायी प्रमाणपत्र नदिने निर्णय गरेको छ।
परिषद्को शुक्रबार बसेको बैठकले उत्तीर्ण परीक्षार्थी कुनै सरकारी, गैरसरकारी, सङ्घसंस्था वा निकायमा पूरा समय नोकरीमा संलग्न व्यक्ति वा अन्य कुनै निकाय संलग्न व्यक्तिले नोकरी समाप्तिपछि मात्र पाउने निर्णय गरेको हो।
परिषद्का सचिव रामहरि काफ्लेका अनुसार सरकारी वा पूर्णकालीन रुपमा काम गर्ने कर्मचारीलाई कानुन व्यवसायी प्रमाणपत्र नदिने निर्णय भएको छ। त्यस्ता व्यक्तिले लिन चाहेमा सरकारी नोकरी वा व्यवसाय छोडेपछि वा कानुन व्यवसाय गर्ने स्वीकृति निज बहाल रहेको निकायबाट लिएको प्रमाण पेश गरेमा कानुन व्यवसायी प्रमाणपत्रका लागि निवेदन दिन पाउनेछ।
परिषद्ले अधिवक्ता तहको २७ औँ विशेष परीक्षाफल प्रकाशित गर्नअघि सो निर्णय गरेको हो। सचिव काफ्लेका अनुसार परिषद्ले सो नियम यही परीक्षादेखि नै लागू हुनेछ।
यसअघि सरकारी वा अन्य पेशा गर्ने व्यक्तिले पनि कानुन व्यवसायी प्रमाणपत्र लिँदै आएका थिए। यो पेशालाई मर्यादित र सम्मानित बनाउने उद्देश्यले परिषद्ले उक्त निर्णय गरेको जनाएको छ। परिषद्बाट अहिलेसम्म करीब १८ हजार कानुन व्यवसायीले कानुन व्यवसायी प्रमाणपत्र लिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।