काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको कामना गरेकी छन्। उनले यस प्रकारका चाडपर्वको अहम् राष्ट्रिय महत्व रहेको उल्लेख गरिन्।
शुभकामना सन्देशमा भनिएको छ, 'यो पर्वलाई तामाङलगायत ह्याल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएका छन्, यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्।'
राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्, 'सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु, साथै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु। चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाइने यस पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।