काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबलाई १–० ले हराउँदै मनाङ मर्स्याङ्दी क्लबले शीर्ष स्थानको आर्मी क्लब र दोस्रो स्थानको मछिन्द्र क्लबसँग अंक बराबरी बनाएको छ।
शुक्रबार दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङका लागि खेलको ४६औँ मिनेटमा बिमल रानाले गोल गरेका थिए।
६० प्रतिशत समय बलमा नियन्त्रण बनाएको मनाङले त्यसपछिका केही अवसर गोलमा परिणत गर्न सकेन।
जितसँगै मनाङको ८ खेलमा १६ अंक भएको छ। शीर्ष स्थानमा रहेको आर्मीको ७ खेलमा नै १६ अंक छ भने दोस्रो स्थानमा रहेको मछिन्द्रको ८ खेलमा नै १६ अंक रहेको छ। एक खेल पनि नजितेको सरस्वती क्लब भने पुछारमा रहेको छ।
यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा च्यासल युथ क्लबले बिग्रेड ब्वाइज क्लबलाई १–० ले हराएको छ। च्यासलका लागि अन्तिम थप समयमा सन्तोष साहुखलले गोल गर्दै जित दिलाएका हुन्।
जितसँगै आठौं स्थानमा रहेको च्यासलको ८ खेलमा ९ अंक रहेको छ। १०औँ स्थानमा रहेको बिग्रेड ब्वाइजको ८ खेलमा ८ अंक नै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।