काठमाडौं- महिला भलिबलका चिर प्रतिद्वन्द्वि एपिएफ र न्यू डायमन्ड क्लबबीच उपाधीका लागि भिडन्त हुने भएको छ।
नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्दै न्यू डायमन्ड
स्पोर्टस् क्लबसँगको भेट पक्का गरेको हो। अर्को खेलमा न्यू डायमन्ड स्पोर्टस् क्लबले सेनाको टिएसीलाई ३–० ले पराजित गर्यो। डायमन्डले टिएसीमाथि २५–१५, २५–२२, २५–१३ को जित निकालेको हो।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष तर्फ सेमिफाईनलमा दुई विभागिय टोली एपिएफ र सेनाको टिएसीबीचको खेलमा एपिएफले बाजी मार्यो।
अघिल्लो संस्करणको विजेता टिएसीलाई २५–२२, २५–२२, २६–२४ को सेटमा पराजित गर्दै एपिएफ उपाधी नजिक पुगेको हो। अब एपिएफले उपाधीका लागि हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्ने छ। तीन भारतीय खेलाडी र भारतीय सेनाका नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २५–१६, २५–१५ ले पराजित गर्दै एपिएफसँगको भेट पक्का गरेको हो।
भारतीय खेलाडीलाई प्राथमिकतामा राख्दै आएको हेल्प नेपालले अघिल्लो संस्करणमा सहभागिता जनाएता पनि खेलाडी बिबादका कारण प्रतियोगिता छाडेको थियो।
च्याम्पियनसिपमा विजयी शीर्ष तीन टोलीले नगद २ लाख, १ लाख र ५० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन्। यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडीहरुले नगद १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्ने छन्।
च्याम्पियनसिपको फाइनल शुक्रबार दिउँसो २ बजे पहिलो खेल महिलाको एपिएफ र न्यू डायमन्डबीच र दोश्रो खेल पुरुषको एपिएफ र हेल्प नेपालबीच दिउँसो ४ बजे हुने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।