काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो। जसमा तीब्र गतिका बलर कमल सिंह ऐरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्। साथै सुशन भारी र कुशल मल्ल पहिलो पटक एकदिवसीय खेल्ने राष्ट्रिय टिममा परेका हुन्।
१३औँ दक्षिण एसियाली खेलकुदको समयदेखि नै चोटग्रस्त रहेका सोमपाल कामी चोटकै कारण टिममा परेका छैनन्। टिममा नपरेका बसन्त रेग्मी घरायसी कारणले टिममा नराखेको बताइएको छ।
ओमान र अमेरिकासँग त्रिवी क्रिकेट मैदानमा नेपालले आउँदो २२ देखि २९ गतेसम्म त्रिदेशीय सिरिज खेल्दैछ। त्यसैको तयारीका लागि टिम अहिले पोखरामा अभ्यासमा रहेको छ। जहाँ मलेसियाको टिमसँग नेपालले ३ खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको थियो।
को को छन् टिममा?
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनाश बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषावकर र ललित नारायण राजबंशी।
वैकल्पिक खेलाडी – पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो।
के हो लिग-२?
आइसिसी विश्व कप क्रिकेट लिग-२ सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने बाटो हो।
लिग-२ मा अहिले सात देश छन्। २०१९ को अगष्टबाट नै सुरु भएको यो लिग-२ मा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन्। जसमा अमेरिका, स्कटल्यान्ड र पपुवा न्युगिनीले समान ८-८ खेल खेलिसकेका छन् भने, नामिविया, ओमान र युएईले समान ४–४ खेल खेलिसकेका छन्। नेपालको भने ओमान र अमेरिकासँगको सिरिज नै पहिलो हो।
जसअनुसार अमेरिकाले १२ अंकसहित शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड ९ अंक बनाएर दोस्रो र नामिविया र ओमान समान ६–६ अंक बनाउँदै तेस्रो र चौथो स्थानमा छन्। युएईले ३ अंक बनाएको छ। यता, ८ खेलमा सबैमा पराजित भएको पपुवा न्युगिनी भने लिग-२ को पुछारमा छ।
यसरी एउटा टिमले लिग-२ मा ३६ वटा खेल खेल्नेछ। लिग-२ बाट शीर्ष ३ टिमले २०२३ को विश्व कप छनोटमा सिधै स्थान बनाउने छन्।
बाँकी चार टिमले पनि विश्वकप छनोटमा प्रवेश गर्न अर्को मौका पाउने छन्। जसलाई आइसिसीले प्लेअफको उपनाम दिएको छ।
जहाँ लिग-२ बाट आएका ४ टिम र च्यालेन्ज लिगबाट आएका शीर्ष २ टिमसहित ६ टिमले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। २०२२ मा आयोजना हुने प्लेअफबाट शीर्ष २ टिम विश्वकप छनोट खेलमा प्रवेश गर्नेछन्।
विश्वकप छनोट २०२२ मा आयोजना हुनेछ। जहाँ सुपर लिगका पुछारका ५, लिग–२ बाट आएका ३ र प्लेअफबाट आएका २ राष्ट्र गरी १० टिमले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन्।
सुपर लिगमा टेस्ट मान्यता प्राप्त १२ देश र नेदरल्याण्ड्स रहेका छन्। यस्तै च्यालेन्ज लिगमा आइसिसी वरियतामा २१ सहित ३२ औँ स्थानसम्म रहेका देशले प्रतिस्पर्धा गर्नेछन्।
विश्वकप छनोटबाट विजेता र उपविजेता बन्ने टिमले मात्रै भारतमा सन् २०२३ मा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन्। विश्वकपमा १० टिमको सहभागिता रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।