काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरूकाे बैठक आज बस्ने भएकाे छ।
बैठक पार्टी सभापित शेरबहादुर देउवाकाे निवास बुढानिलकण्ठमा बैठक बिहान १० बजे बस्न लागेकाे हाे। यसअघि बुधबार भएको छलफलको निरन्तरता स्वारुप सभापति देउवाले आज पनि शीर्ष नेताहरूको बैठक बोलाएका हुन्।
बैठकमा कांग्रेस संस्थापनइतरले संस्थापन पक्षसँग १४औं महाधिवेशन सुनिश्चितता खोज्ने भएको छ। सभापति देउवाले बाेलाएको शीर्ष नेताहरूको बैठकमा राखिने अडानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बिहीबार बैठक बोलाएको थियो।
महामन्त्री डा शशांक कोइराला निवास महारागञ्जमा बिहीबार बैठक बसेकाे हाे। १४औं महाधिवेशन ‘फ्री एण्ड फेयर’ हुुनुपर्ने संस्थापनइतर पक्षको माग छ। पौडेल निकट केन्द्रीय सदस्य कल्याण गुरुङले महाधिवेशन स्वच्छ हुनुपर्ने विषयमा छलफल भएको बताए।
क्रियाशील सदस्यता आफू खुसी मनोमानी ढंगले वितरण गर्ने संस्थापन पक्षको तयारी रहेको भन्दै अर्काे पक्षले आपत्ति जनाएको छ। नेता गुरुङले भने,‘वडा तहको अधिवेशन हुनुअघि क्रियाशील सदस्यको अन्तिम नाम पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्छ।’
क्रियाशील सदस्यता छानबिनका लागि विशेष समिति गठनको मागसमेत उठाइएको छ। पुस ११ मा पारित महाधिवेशनको कार्यतालिका हेरफेर हुनुपर्ने प्रस्ताव गरिएको छ।
१४औं महाधिवेशन संस्थापन पक्षकै प्रस्तावअनुसार २०७७ फागुनमा सहमति जनाउने संस्थापनइतरले जनाएको छ। प्रदेशभन्दा तल्ला कार्यसमितिको अधिवेशन पूर्वघोषित मिति भन्दा अघि सार्न प्रस्ताव गरिएको छ। साधारण सदस्यता वितरण जिल्ला सभापतिलाई अधिकार दिइ भ्रातृ संस्थाहरूलाई दिने प्रावधान नियमावलीको प्रावधान हटाउन भनिएको छ।
बैठकले महाधिवेशनको सुनिश्चितता भएपछि मात्रै विभाग र भ्रातृ संस्थाका विवाद अन्त्य गर्न पहल गर्ने निर्णय गरेको छ। वरिष्ठ नेता पौडेल पक्षले बोलाएको बैठकमा तेस्राे समूहका नेता कृष्णप्रसाद सिटौला पनि उपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।