काठमाडौं- राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वर्चश्व कायम राखेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सबै उम्मेदवार पराजित भएका छन्। कांग्रेसबाट रिक्त हुने सात सांसदमा नेकपा र राजपाले जित निकालेका हुन्।
प्रदेश १ बाट सत्तारुढ दल नेकपाकै उम्मेदवारले जीत निकालेका छन्। गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भए। प्रदेश १ बाट कांग्रेस सांसद सरिता प्रसाईको कार्यकाल सकिँदैछ। प्रसाईको स्थानमा नेकपाकी महिला उम्मेदवार गौतमले स्थान लिएकी छन्। कांग्रेसले उक्त प्रदेशमा निरबहादुर विश्वकर्मा, मिना पुलामी मगर र राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको थियो।
प्रदेश २ मा महिलातर्फ सत्तारुढ दलकै तुलसा दाहाल विजयी भएकी छन्। महिला उम्मेदवारमा कांग्रेसले प्रतिस्पर्धी बनाएकी नागिना यादव नेकपा उम्मेदवारसँग पराजित भएकी छन्। नेकपाकै राधेश्याम पासवान दलित समूहबाट विजयी भएका छन्।
यादव र अल्पसंख्यक/अपाङ्गताबाट भोला पन्जियारलाई कांग्रेसले उम्मेदवार बनाएको थियो। प्रदेश २ मा नेकपा र राष्ट्रिय जनता पार्टीले गठबन्धन बनाएका थिए। राजपाले यस प्रदेशमा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाएको थियो।
नेकपाको सहयोगमा राजपाले समेत सदस्य थप्न सफल भएको छ। मुक्ताकुमारी यादवको स्थान कांग्रेसले गुमायो।
बागमती प्रदेशमा नेकपाका उम्मेदवार वेदुराम भुसाल र गंगा बेलबासे निर्वाचित भएका छन्। भुसाल र बेलबासेले कांग्रेसका हरिशरण श्रेष्ठ छलीकुमारी शर्मा उपाध्यायलाई हराए। बाग्मती प्रदेशबाट खाली भएका दुईमध्ये कांग्रेस सांसद धनकुमारी खतिवडाको स्थानमा छलिकुमारी शर्मा आएकी छन्।
गण्डकी प्रदेशमा पनि कांग्रेसलाई हात शून्य लागेको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई पराजित गरे। अन्य समूहबाट श्रेष्ठले विजयी निकाल्दा सोहि प्रदेशमा महिला उम्मेदवार पनि नेकपाकै उम्मेदवार विजयी भइन्। नेकपाकी उम्मेदवार भगवती न्यौपानेले कांग्रेस उम्मेदवार विमला गौचनलाई हराइन्।
गण्डकी प्रदेशबाट कांग्रेसले राष्ट्रिय सभामा दुई सांसद घटाएको छ। कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे र विन्दादेवी आलेको स्थानमा नेकपाका श्रेष्ठ र न्यौपाने चुनिएका छन्।
प्रदेश ५ मा महिलातर्फ नेकपाकी विमला घिमिरे विजयी भएकी छिन्। नेकपाबाटै जगप्रसाद शर्मा र गोपालप्रसाद भट्टराई विजयी भए।
कांग्रेस उम्मेदवार बालकृष्ण पाण्डे, गिरिजादेवी न्यौपाने र मेराज हलवाईलाई उम्मेदवार पराजित भए। प्रदेश ५ बाट कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको स्थान समेत नेकपाले खोसेको छ।
कर्णाली प्रदेशमा मायाप्रसाद शर्मा र सुमित्रा विसि नेकपाबाट विजयी भए। कांग्रेसका डिल्लिराम पाठक,गणेशकुमारी बस्नेत पराजित भए।
सुदूपश्चिम प्रदेशमा नेकपाले तारामान स्वाँर र शारदा भट्टले कांग्रेस उम्मेदवार प्रताप ठगुन्ना र तुलसी देवकोटालाई पराजित गरे।
बद्री पाण्डेको स्थान नेकपाले राष्ट्रिय सभामा कांग्रेसबाट खोस्न सफल भएको छ। महिला सदस्यको स्थान भने सुरक्षित राख्न सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।