काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समय आउन एक महिना बाँकी छ। नेपाल विद्यार्थी संघको कार्यसमिति गठन माउ पार्टी नेपाली कांग्रेसले नगरिदिँदा नेविसंघले स्ववियु निर्वाचनको तयारी गर्न सकेको छैन।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले फागुन १४ गतेका लागि स्ववियु निर्वाचन मिति घोषणा गरेको छ। कार्यकारी परिषद्ले अर्को साता निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने विद्यार्थी कल्याणकारी महाशाखाका प्रमुख गंगाबहादुर थापाले जानकारी दिए।
त्रिविका ६२ आंगिक क्याम्पस छन्। सम्वन्धन प्राप्त करिब एक हजार एक सय क्याम्पस देशभर छन्। सम्वन्धन प्राप्त गरेका सबै क्याम्पसले भने स्ववियु निर्वाचन गर्दैनन्। त्रिवि कल्याणकारी महाशाखाका थापाले करिब ४ सय क्याम्पसमा स्ववियु निर्वाचन हुने बताए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघ तदर्थ समिति गठन हुन ढिलो भएको स्वीकार्दै भने,‘१÷२ दिनमै नेविसंघको कार्यसमिति गठन हुन्छ। स्ववियु निर्वाचनका लागि छापामार शैलीमा संगठन परिचालन हुन्छ।’ शीर्ष तहका नेताको बैठकले तदर्थ समिति गठन गर्ने उनले जानकारी गराए।
कांग्रेस सभापति शेरबहादुर देउवाले ३२ वर्षे उमेर कायम नगरि असोजमा नयाँ कार्यसमिति बनाउने तयारी गरेका थिए। राजीव ढुंगानाको नेतृत्वमा बन्न लागेको कार्यसमितिलाई अर्को खेमाका नेताहरुले असहमति जनाएपछि सभापति देउवाको तयारीले पुरा हुन पुगेन।
संगठनको अभावमा स्ववियु निर्वाचनका लागि परिचालन हुन नसकेको नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले स्वीकारे। पार्टीको आन्तरिक विवादले कार्यसमिति गठन हुन ढिलो भए पनि स्ववियुका लागि संघ तयार रहेको उनले प्रतिक्रिया दिए। निर्धारित समयमा १२ औं महाधिवेशन गर्न असक्षम रहेको भन्दै महरको कार्यसमितिलाई गत वर्ष भंग गरिएको थियो।
कांग्रेसभित्र तदर्थ समिति उमेर हद कायम गरि गठन गर्नुपर्ने र गर्न नहुने विवाद यथावत छ। भागवण्डा र उमेर हदको विषयले संस्थापन र इतर समूहका नेताहरु विभाजित छन्। संस्थापन पक्ष ३२ वर्षे उमेर माथिबाट तदर्थ समिति गठन गर्ने मनस्थितिमा छ। तर,वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले संघको विधान अनुसार ३२ वर्ष मुनिबाट कार्यसमिति हुनुपर्ने माग गर्दै आएका छन्। नयाँ विधान अनुसार २१ जिल्लामा अधिवेशन भइसकेकाले उमेर हद कायम गरि तदर्थ समिति गठन हुनुपर्ने नेता प्रकाशमान सिंह बताए।
गत साता संघका कार्यकर्ताको एक भेलाले केन्द्रीय कार्यसमिति अबिलम्ब गठन गर्न केन्द्रीय नेतृत्वसमक्ष मागसमेत गरेका थिए।
स्ववियु निर्वाचनको समयमा निर्वाचन आयुक्तको भूमिकामा रहने रेक्टरको नियुक्ति भइसकेको छैन। सोहीकारण फेरि पनि निर्वाचन नहुने आशंका कायमै रहेको त्रिवि नेविसंघका इकाइ अध्यक्ष हरि आचार्यले बताए। उनले भने,‘जवाफदेही व्यक्ति रेक्टर नियुक्त नहुँदा स्ववियु निर्वाचन गर्न त्रिवि पनि तयार नभएको देखिएको छ।’ केन्द्रीय क्याम्पस त्रिविमा नेविसंघ विजयी हुने उनले दाबी गरे।
नेविसंघ र अनेरास्ववियुबीच विवादले २०६५ देखि स्ववियु निर्वाचन गर्न अवरोध हुँदै आएको थियो। २/२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ साल पछि निर्वाचनको मिति तोकिए पनि सफल हुन सकेको छैन। २०७३ मा भएको निर्वाचनमा २ सयबढी क्याम्पसमा निर्वाचन भएको थियो। संगठनहरु बीच विवाद भएपछि तत्कालीन समयमा कतिपय क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।
उमेर हद, निर्वाचन प्रणाली र संगठनबीच विवादले निर्वाचन रोकिँदै आएको निर्वाचन यसपटक हुने सम्भावना बढेको छ। पूर्व एमाले र पूर्व माओवादीबीच एकीकरण भएसँगै नेकपाको भ्रातृ संस्था अनेरास्ववियु निर्वाचनमा जित निकाल्ने गरि तयारीमा लागिसकेको छ। अनेरास्ववियुको केन्द्रीय समिति बैठकले ९५ प्रतिशत नतिजा आफ्नो पक्षमा आउने दाबी गरेको छ। स्ववियु निर्वाचनमा उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएकाले विद्यार्थीहरुले विगतमा जस्तो रुची नदेखाएको आरोप पनि लाग्ने गरेको छ।
२०६९ मा त्रिविले आफ्नो विनियमावली संसोधन गरेर उमेर हद र निर्वाचन प्रणालीमा परिवर्तन गरेको थियो। संसोधित प्रावधानअनुसार मिश्रित निर्वाचन प्रणाली र उमेर हदमा २८ वर्षको व्यवस्था राखिएको छ। २१ सदस्यीय कार्यसमितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्नेछ। उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत छनोट हुने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।