काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले हराएको छ। यसअघि आठौँ स्थानमा रहेको जावलाखेल जितसँगै पाँचौँ स्थानमा उक्लिएको छ।
अहिलेसम्म आठ खेलमा एक खेल मात्रै जितेको एपिएफ भने रेलिगेसन नजिक छ। ५ अंक मात्र बनाएर १३औँ स्थानमा रहेको एपिएफभन्दा तल १ अंक रहेको सरस्वती युथ क्लब मात्र छ।
बिहीबार दशरथ रंगशालामा भएको खेलमा जावलाखेलका लागि ७१औँ मिनेटमा फोडे फोफन्नाले गरेको गोल निर्णायक बनेको हो। गोलबाहेक नै पनि जावलाखेलले एपिएफलाई दबाबमा राखेको थियो।
जितसँगै जावालाखेलको ८ खेलमा १२ अंक भएको छ। ३ खेल जितेको जावालखेलले ३ खेल बराबरी गरेको छ भने २ खेल हारेको छ।
यसअघि लिगको पहिलो खेलमा जावलाखेलले थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराएको जावलाखेलले तेस्रो खेलमा संकटासँग १–१ गोलको बराबरी खेलेको थियो।
लिगको चौथो खेलमा च्यासललाई २–० ले हराएको जावलाखेलले पाँचौँ खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो। छैठौँ खेलमा पहिलो हार भोगेको जावलाखेल मछिन्द्रसँग १–० ले हारेको थियो। त्यसपछि सातौँ खेलमा जावलाखेल पुलिस क्लबसँग २–० ले हार्न पुग्यो।
यस्तै लिगको पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग २–० ले हारेको एपिएफले दोस्रो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा थ्री स्टार क्लबसँग १–० ले हारेको एपिएफले चौथो खेलमा सरस्वती युथ क्लबलाई २–१ ले हराएको थियो।
लिगको पाँचौँ खेलमा संकटा क्लबसँग ४–२ ले हारेको एपिएफले छैठौँ खेलमा च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो। सातौँ खेलमा एपिएफ एनआरटीसँग ३–२ ले हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।