काठमाडौं- मलेसियाको टिम मलेसिया सेक्रेटरी ११ विरुद्धको मैत्रीपूर्ण एकदिवसीय सिरिज नेपालको क्यान प्रेसिडेन्ट ११ ले ‘क्लिन स्वीप’ गरेको छ।
तीन खेलको सिरिजमा पहिलो खेल १ सय ३४ रन र दोस्रो खेल १ सय ७२ रनले जितेको नेपाली टिमले बिहीबार तेस्रो खेल ५ विकेटले जितेको हो।
सिरिजले आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशीय सिरिजको तयारीमा रहेको नेपाललाई मद्धत पुग्ने विश्वास गरिएको छ। ओमान र अमेरिकासँग त्रिवी क्रिकेट मैदानमा नेपालले आउँदो २२ देखि २९ गतेसम्म त्रिदेशीय सिरिज खेल्दैछ। त्यसैको तयारीका लागि टिम अहिले पोखरामा अभ्यासमा रहेको हो।
लिग–टु सन् २०२३ मा आयोजना हुने विश्वकपको छनोट गर्ने माध्यम भएकाले ओमान र अमेरिकाविरुद्धको सिरिजको विशेष महत्व रहेको छ।
मलेसियाको टिमविरुद्ध तेस्रो खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपाली टिमले २३.५ ओभरमा ५ विकेट जाँदा पूरा गरेको हो।
नेपालका लागि ओपनिङमा आएका सुनिल धमला ५ बलमा ५ रन बनाउँदा आउट भए। अर्का ओपनर कुशल भुर्तेलले ३ बल खेलेर शून्यमै आउट भए। तेस्रो क्रममा ब्याटिङमा आएका रोहित कुमार पौडेलले भने ७० बलमा ८१ रन बनाए। दिपेन्द्र सिंह ऐरीले २४ बलमा २८ रन र लोकेश बमले २७ बलमा २६ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया सेक्रेटरी ११ टिमले ४३.४ ओभरमा १ सय ५७ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
नेपालका लागि अभिनास बोहराले तीन, ललित नारायण राजबंशी र कुशल मल्लले दुई–दुई साथै कमल सिंह ऐरी र किशोर महतोले एक–एक विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।