काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरका शीर्ष तहका नेताहरुको बैठक महामन्त्री डा शशांक कोइराला निवासमा बसिरहेको छ।
शीर्ष तहका नेताको बैठकपश्चात् अपरान्ह ४ बजे संस्थापनइतरकै केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ। संस्थापन पक्षसँग बुधबार भएको छलफलको प्रगति शीर्ष नेताहरुले केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने भएका छन्।
शुक्रबार सभापति निवासमा बोलाइएको बैठकमा संस्थापन इतरका तर्फबाट कतिसम्म लचिलो भएर प्रस्तुत हुने भन्ने विषयमा समेत छलफल हुने छ। शीर्ष तहको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला,प्रकाशमान सिंह लगायतका नेताहरु छन्।
४ बजेको बैठकमा केन्द्रीय सदस्यहरुलाई आमन्त्रण गरिएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी गराए।
पुस ११ गते बसेको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गरेपछि पार्टीभित्रको विवाद बढेको थियो। निर्वाचन कार्यतालिका,विभाग गठन, भ्रातृ संस्था गठन, विधानका धारा निलम्बन लगायतका विषयमा पार्टीभित्र विवाद छ।
सहमति पहिल्याउन सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान पुनः शीर्ष नेताको बैठक बोलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।