काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबलाई ३–१ ले हराउँदै थ्री स्टार क्लब तेस्रो स्थानमा उक्लिएको छ। थ्री स्टारको ८ खेलमा १४ अंक भएको हो।
बिहीबार दशरथ रंगशालामा भएको खेलमा छैठौँ मिनेटमा नै गोल गर्दै सुशिल राईले थ्री स्टारको अग्रता बनाए। पहिलो हाफको इन्जुरी समयमा सन्जोग राईको गोलले थ्री स्टार २–० ले अघि बढेको थियो।
खेलको ५०औँ मिनेटमा वासियु लोलान्डिरन हजमतले गोल गर्दै थ्री स्टारको अग्रता तेब्बर गरे। हजमतको गोलसँगै जारी लिगमा सबै खेलमा गरेर एक सय गोल पनि पूरा भएको छ।
५७औँ मिनेटमा हिमालयन शेर्पाका स्टेफन समिरले गोल गर्दै अग्रता कम गरे पनि टिम खेलमा फर्कन सकेन।
अहिलेसम्म ८ खेलमा ७ अंक रहेको हिमालयन शेर्पा अंक तालिकाको ११औँ स्थानमा छ। मछिन्द्र क्लबविरुद्धको खेल जितेको शेर्पाले ४ खेल बराबरी खेलेको छ भने ३ खेल हारेको छ।
कस्तो थियो यसअघिको नतिजा?
लिगको पहिलो खेल जावलाखेल युथ क्लबसँग बराबरी खेलेको थ्री स्टारले दोस्रो खेलमा पुलिस क्लबलाई १–० ले हराएको थियो। तेस्रो खेलमा एपिएफलाई १–० ले नै हराएको थ्री स्टार चौथो खेलमा आर्मीसँग २–० ले पराजित भएको थियो।
लिगको पाँचौँ खेलमा बिग्रेड ब्वाइज क्लबलाई ३–१ ले हराएको थ्री स्टार छैठौँ खेलमा फ्रेन्ड्ससँग १–० ले पराजित भएको थियो। सातौँ चरणको खेलमा थ्री स्टारले मनाङ मर्स्याङ्दीसँग २–२ गोलको बराबरी खेलेको थियो।
यस्तै लिगको पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको हिमालयन शेर्पा क्लबले दोस्रो खेलमा एपिएफसँग १–१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा आर्मीसँग २–० ले हारेको शेर्पा चौथो खेलमा बिग्रेड ब्वाइजसँग १–० ले हारेको थियो।
हिमालयन शेर्पाले लिगको पाँचौँ खेलमा फ्रेन्ड्ससँग र छैठौँ खेलमा मनाङ मर्स्याङ्दीसँग गोलरहित बराबरी नै खेलेको थियो। सातौँ खेलमा भने हिमालयन शेर्पा मछिन्द्रसँग २–० ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।