काठमाडौं- कोपा डेल रे अन्तर्गतको खेलमा बिहीबार राति बार्सिलोनाले तेस्रो डिभिजनको युडी आइबिजासँगको खेलमा निकै कठीन जित निकाल्यो। राति नै रियल मड्रिडलाई दोस्रो डिभिजनको युनिअन्सतास डे सालामान्कासँगको खेलमा भने केही सहज देखियो।
कोपा डेल रे को कीर्तिमानी ३० पटकको विजेता र गएको पाँच सिजनमा नै चार उपाधि जितेको बार्सिलोनाको खेल सोचेअनुरुप हुन सकेन। आइबिजाको कृत्रिम मैदानमा खेलको ९औँ मिनेटमा नै बार्सिलोना पछि परेको थियो।
पहिलो हाफमा एकै बल पनि पोस्टमा प्रहार गर्न नसकेको बार्सिलोनाले दोस्रो हाफमा केही सुधार गर्न सकेको थियो। लियोनल मेस्सीबिनाको टिममा एन्टोनियो ग्रिजम्यानले फ्रान्की डि योङको पासमा ७्र२ औँ मिनेटमा बराबरी गोल गरेका थिए। अन्तिम थप समयमा जोर्डि अल्बाको पासमा दोस्रो गोल गर्दै ग्रिजम्यानले नै बार्सिलोनालाई जित दिलाए।
पहिलो हाफमा ८२ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि बार्सिलोनाले एकै प्रहार पनि पोस्टको दिशामा गर्न सकेको थिएन। त्यसले नयाँ प्रशिक्षक क्विके सेटियनको शैली कमजोर देखिन पुगेको थियो।
तर पोसेसन बनाइराखेर दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कन सक्यो। जहाँ ८ प्रहारमा ३ प्रहार पोस्टमा दिशामा हुँदा २ गोल नै भयो। ७ सय १८ पासमा ३ सट मात्र पोस्टमा हुनु राम्रो नभए पनि जितको नतिजाले पनि सेटियनलाई राहत मिलेको छ।
कोपा डेर रे मा बुधबार राति नै रियल मड्रिडले दोस्रो डिभिजनको युनिअन्सतास डे सालामान्कालाई ३–१ ले हरायो।
रियल मड्रिडका लागि गएको सेप्टेम्बर पछि पहिलो गोल गर्दै ग्यारेथ बेलले अग्रता दिलाएका थिए। १८औँ मिनेटको उनको गोलपछि युनिअन्सतासका रोमेरोले ५७औँ मिनेटमा बराबरी गोल फर्काएका थिए।
६२ औँ मिनेटमा युनिअन्सतासका ग्यानगोराको आत्मघाती गोलले अग्रता पाएको मड्रिडका लागि अन्तिम थप समयमा ब्राहिम डियाजले गोल गर्दै ३–१ को जित बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।